ढोरपाटनमा सिकार याम सुरु, १० नाउर र ७ झारलको कोटा निर्धारण

बागलुङ, ९ असाेज । ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याम सुरु भएको छ। असोजदेखि मङ्सिरसम्म चल्ने पहिलो याममा १० नाउर र ७ झारलको सिकारका लागि कोटा निर्धारण गरिएको छ।

ढोरपाटनमा सिकारका लागि अनुमति पाएका विदेशी सिकारी नेपाल आउने तयारीमा रहेको आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए। उनका अनुसार वन्यजन्तु विभागबाट सिकार व्यवस्थापनको ठेक्का पाएका कम्पनीमार्फत विदेशी सिकारीसँग समन्वय भइरहेको छ।

ढोरपाटनमा पछिल्ला केही दशकदेखि अमेरिका, रुस, स्पेन, डेनमार्क, फ्रान्सलगायत विभिन्न देशका सिकारी सिकारका लागि आउने गरेका छन्। सिकारका लागि विभागले प्रतिस्पर्धात्मक प्रक्रियामार्फत कम्पनी छनोट गर्दै आएको छ।

गत वर्ष ढोरपाटनमा दुई सिकार याममा २१ नाउर र ११ झारलको सिकार भएको थियो। त्यसबाट रु. ४ करोड १७ लाख राजस्व संकलन भएको आरक्ष कार्यालयले जनाएको छ। यस वर्षको पहिलो यामको राजस्व बुझाउने प्रक्रिया भइरहेको छ।

प्रमुख संरक्षण अधिकृत बरालका अनुसार गत वर्ष एउटा नाउरको सिकारका लागि रु. २० लाख मूल्य कायम गरिएको थियो। यस वर्ष आरक्ष क्षेत्रमा नाउर र झारलको गणनासमेत गरिने तयारी छ।

विदेशी सिकारी हेलिकप्टरमार्फत सिधै सिकार ब्लक क्षेत्रमा पुग्ने गर्छन्। आरक्षमा सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सात सिकार ब्लक निर्धारण गरिएको छ।

सिकारका क्रममा नेपाली सहयोगीसहित आरक्षका कर्मचारी पनि विदेशी सिकारीसँगै खटिनेछन्। तोकिएको सिकार ब्लकमा विदेशी सिकारी समूहले १५ दिनभित्र सिकार पूरा गर्नुपर्ने व्यवस्था छ।

वन्यजन्तु विभागले हरेक वर्ष नाउर र झारलको सिकारका लागि कोटा निर्धारण गर्दै आएको छ। दोस्रो सिकार याम फागुनदेखि वैशाखसम्म सञ्चालन हुने जनाइएको छ।

वि.सं. २०४४ मा स्थापना भएको ढोरपाटन सिकार आरक्ष पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको छ। आरक्ष कार्यालय भने बागलुङको ढोरपाटन उपत्यकामा रहेको छ। आरक्ष कार्यालयका अनुसार गत वर्ष करिब ३७ हजार आन्तरिक तथा बाह्य पर्यटक ढोरपाटन भ्रमणका लागि पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *