बाणगङ्गा नदीमा हाम फालेका पुरुषको खोजी जारी
काठमाडौँ, असोज ९ । कपिलवस्तुको बाणगङ्गा नगरपालिका १ बुचीस्थित बाणगङ्गा नदीमा हामफालेका एक पुरुषको खोजी जारी रहेको छ ।
प्रहरीका अनुसार बाणगङ्गा नगरपालिका ८ मधुवन निवासी अन्दाजी ५४ वर्षीय नारायण बेल्वासेले आज दिउँसो बुची र बोडगाउँ जोड्ने बाणगङ्गा नदीको पक्की पुलको उत्तरी किनारबाट नदीमा हामफालेको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।
सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पिपराबाट प्रहरी निरीक्षक कालिका कार्कीको कमान्डमा १५ जनाको प्रहरी टोली उद्धार सामग्रीसहित घटनास्थल पुगेको थियो । खोजीका क्रममा नदी किनारमा बेल्वासेले लगाएका कपडा र चप्पल फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रीपेन्द्रकुमार सिंहले जानकारी दिनुभयो ।
बेपत्ता बेल्वासेको खोजीका लागि सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प पिपराबाट सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमसिंह धामीको कमान्डमा ११ जनाको टोलीसमेत परिचालन गरिएको छ । नेपाल प्रहरीको थप टोली पनि खोजी कार्यमा खटाइएको प्रहरीले जनाएको छ ।
नदीमा पानीको बहाव र गहिराइलाई ध्यानमा राख्दै सुरक्षाकर्मीले सम्भावित स्थानमा खोजी गरिरहेका छन् । बेल्वासेको अवस्था भने अझै अज्ञात रहेको प्रहरीले जनाएको छ ।
