हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार

काठमाडौँ, असोज ९ । दुई दिनदेखि परेको अविरल वर्षाका कारण हनुमन्ते र गोदावरी खोलामा आएको बाढीले जोखिममा परेका खोला किनारका टहरामा बस्दै आएका १५ परिवारका ९२ जनालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।

हनुमन्ते खोलाको सतह बढेर बालकोट, कौशलटार, लोकन्थली र सागबारी क्षेत्रका टहरामा पानी पस्न थालेपछि प्रहरीले ती परिवारलाई उद्धार गरी कौशलटारस्थित आदर्श जनप्रेमी माध्यमिक विद्यालयमा स्थानान्तरण गरेको हो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले बालकोट र लोकन्थलीको सीमाना सागबारीमा हनुमन्ते, मनोहरा र गोदावरी खोला आएर जोडिने त्रिवेणी क्षेत्रबाट ९२ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जानकारी दिनुभयो ।

मनोहरा पुल जोखिममा, यातायात बन्द

अविरल वर्षाका कारण मनोहरा खोलामा आएको बाढीले भक्तपुरको बोडे र काठमाडौँको मूलपानी जोड्ने पुलसँगैको जमिन भासिएपछि उक्त सडकखण्डमा सवारीसाधनको आवागमन रोकिएको छ ।

बाढीका कारण सडक तथा पुल आसपासको जमिन भासिएर मनोहरा पुल जोखिममा परेपछि सम्भावित दुर्घटना रोक्न यातायात आवागमनमा रोक लगाइएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिनुभयो ।

यसैगरी, वर्षाका कारण हनुमन्ते, खस्याङ-खुसुङ र गोदावरी खोलाको सतह बढेपछि भक्तपुरका विभिन्न स्थानमा सडक तथा बस्ती प्रभावित भएका छन् । डेकोचा र पिखेल हुँदै चाँगुनारायणतर्फ जाने सडकमा समेत खोलाको पानी सडकबाटै बग्दा आवागमनमा समस्या भएको छ ।

भक्तपुर-काभ्रे सडक सञ्चालन

अविरल वर्षाका कारण अवरुद्ध भक्तपुर–काभ्रे जोड्ने च्यामासिंह-ताथली-नाला-बनेपा सडकखण्डमा भने यातायात सञ्चालनमा आएको छ ।

वर्षासँगै आएको पहिरोका कारण आज बिहानदेखि च्यामासिंह-ताथली-नाला सडकखण्डमा सवारी आवागमन रोकिएको थियो । पहिरो पन्छाएपछि सडक पुनः सञ्चालनमा ल्याइएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *