अविरल वर्षापछिको पहिरोले ललितपुरमा साढे २ तले घर ढल्यो

काठमाडौं, १२ असोज । अविरल वर्षापछि आएको बाढी पहिरोका कारण ललिलपुरमा पनि क्षति भएको छ । पछिल्लो जानकारी अनुसार ललितपुर महानगरपालिका–२४ धापाखेलमा पहिरोका कारण साढे २ तले घर ढलेको छ। आज बिहान सोवितकुमार थापाको घर पहिरोका कारण ढलेको हो ।

ललितपुर महानगरपालिकाका नगरप्रहरी प्रमुख सीताराम हाछेथुले उक्त घर ढलेको भिडियो सामाजिक सञ्जालमा राख्दै जानकारी दिनुभएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार पनि घरभन्दा तलको जमिन गलेर पहिरो गएपछि घर ढलेको हो। असोज ९ गतेदेखि परेको लगातार वर्षाका कारण जमिन गलेको र त्यसैका कारण पहिरो गएको प्रहरीले जनाएको छ।

घर जोखिममा रहेको आकलन भएपछि त्यहाँ बस्दै आएको परिवारलाई अघिल्लो दिन नै सुरक्षित स्थानमा सारिएको थियो। परिवारलाई समयमै सुरक्षित स्थानमा सारिएकाले घटनामा मानवीय क्षति हुन नपाएको प्रहरीको भनाई छ ।

आइतबार साँझदेखि वर्षा रोकिए पनि लगातारको वर्षाका कारण कमजोर बनेको जमिनमा पहिरो जाने क्रम देखिएको हो। प्रहरीले घटनास्थलको अवस्थाबारे थप विवरण संकलन गरिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *