बाढीपहिरोले बेँसीसहर–चामे सडक क्षतिग्रस्त, पूर्ण सञ्चालनमा आउन एक साता लाग्ने

लमजुङ, १२ असोज । लगातार चार दिनको वर्षापछि आएको बाढीपहिरोले बेँसीसहर–चामे सडकका विभिन्न स्थानमा क्षति पुर्‍याएपछि सडक मर्मत तथा पहिरो पन्छाउने काम सुरु भएको छ । सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन करिब एक साता लाग्ने अनुमान गरिएको छ ।

डुम्रे–बेँसीसहर–चामे सडक आयोजना कार्यालयका सूचना अधिकारी नवीन विष्टका अनुसार सडकका मुख्य तीन स्थानमा ठूलो क्षति पुगेको छ । अन्य स्थानमा पनि दर्जनौँ साना–ठूला पहिरो खसेका छन् भने कतिपय ठाउँमा सडक भासिएको र केही स्थानमा नदीले सडक कटान गरेको छ ।

मस्र्याङ्दी गाउँपालिका–४ रामबजार क्षेत्रमा करिब २५ देखि ३० मिटर सडक भासिएको छ । रामबजार आसपासका साना अवरोध हटाएर सडक खुलाउने काम भइरहेको विष्टले जानकारी दिनुभयो ।

मनाङको नासों गाउँपालिका–३ खोत्रो क्षेत्रमा ठूला ढुङ्गासहित पहिरो खसेको छ । ठूला ढुङ्गा हटाउन ब्लास्टिङ गर्नुपर्ने अवस्था रहेको आयोजनाले जनाएको छ । कोत्रो क्षेत्रमा मस्र्याङ्दी नदीले सडक कटान गर्नुका साथै दुईवटा काठे पुलसमेत बगाएको छ ।

सडक खुलाउन हाल दुईवटा डोजर परिचालन गरिएको छ । थप एउटा डोजर नुवाकोटबाट ल्याउने तयारी भइरहेको छ । तीनवटै डोजर परिचालन गरी सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ भने जलविद्युत् आयोजनासँग पनि आवश्यक सहयोग मागिएको छ ।

केही स्थानमा सडकको क्षति व्यवस्थापनका लागि प्राविधिक अध्ययन आवश्यक पर्ने आयोजनाले जनाएको छ । विसं २०७८ मा पनि बाढीपहिरोका कारण लामो समय सडक अवरुद्ध भएको स्मरण गर्दै विष्टले यसपटक धेरै ठाउँमा एकैपटक क्षति भएकाले पूर्ण रूपमा सञ्चालनमा ल्याउन समय लाग्ने बताउनुभयो ।

करिब ६५ किलोमिटर लामो बेँसीसहर–चामे सडक मनाङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने मुख्य स्थलमार्ग हो । सडक अवरुद्ध हुँदा मनाङवासीको आवतजावतसँगै खाद्यान्न, औषधि, निर्माण सामग्रीलगायत अत्यावश्यक वस्तुको ढुवानी प्रभावित भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *