चोलेन्द्र शमशेरको पक्राउप्रति एमालेको आपत्ति, ‘राज्य आतङ्कको नमुना’

काठमाडौँ, १२ असोज । नेकपा एमालेले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले निवासबाट नियन्त्रणमा लिएको घटनाप्रति आपत्ति जनाएको छ । एमाले प्रमुख सचेतक ऐनबहादुर महरले प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उक्त घटनालाई ‘राज्य आतङ्क र बर्बरताको नमुना’ भएको टिप्पणी गर्नुभएको हो ।

महरले जबरालाई राति निवासबाट नियन्त्रणमा लिइएको घटनाप्रति असन्तुष्टि जनाउँदै सरकारले सम्मानित व्यक्तिलाई पक्राउ गर्ने क्रममा अपनाएको प्रक्रियामाथि प्रश्न उठाउनुभयो ।

उहाँले सरकारको पछिल्लो कदमले विधिको शासन र नागरिकको अधिकारबारे प्रश्न उठाएको दाबी गर्नुभयो । कानुन उल्लङ्घन गर्ने जोसुकैलाई कानुनी दायरामा ल्याउनुपर्ने भए पनि तथ्य र प्रमाणबिना तथा प्रतिशोधका आधारमा पक्राउ गर्न नहुने उहाँको भनाइ थियो ।

महरले सरकार गठन भएयता पूर्वपदाधिकारीहरूलाई पक्राउ गर्ने शैलीप्रति समेत प्रश्न उठाउनुभयो । उहाँले यस्तो कार्यशैलीले सरकारको लोकतान्त्रिक चरित्रभन्दा निरङ्कुशता र स्वेच्छाचारिताको संकेत गरेको आरोप लगाउनुभयो ।

जेनजी पुस्ताको आन्दोलनको सन्दर्भ जोड्दै महरले सरकारले त्यसको आडमा आफ्ना गैरकानुनी गतिविधि ढाकछोप गर्न खोजेको आरोपसमेत लगाउनुभयो । नागरिकको मान–मर्यादा, व्यक्तिगत स्वतन्त्रता र मानवअधिकारको सम्मान गर्नुपर्ने उहाँको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *