शुभकामना बचत तथा ऋण सहकारी संस्थाको २६औँ वार्षिक साधारण सभा सम्पन्न
भक्तपुर, ११ असाेज । शुभकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६औँ वार्षिक साधारण सभा शनिबार भक्तपुरकाे सुर्यविनायकमा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष रामप्रसाद कासुलाबाट अतिथिहरूलाई खादा तथा भक्तपुरे कालो टोपी प्रदान गरी स्वागत तथा सत्कार गरिएको थियो। त्यसपछि राष्ट्रिय गान र सहकारी पाठसहित उपाध्यक्ष निर्मला सुवालले स्वागत मन्तव्य प्रस्तुत गरेकी थिइन्। संस्थापक अध्यक्ष स्वर्गीय कृष्णप्रसाद सुवालको तस्बिरमा माल्यार्पण तथा दीपप्रज्वलन गरी साधारण सभाको औपचारिक उद्घाटन गरिएको थियो।
कार्यक्रममा अध्यक्ष कासुलाबाट विभिन्न वर्गका सदस्यलाई सम्मान तथा पुरस्कार वितरण गरियो। ज्येष्ठ सदस्यलाई दोसल्ला तथा खाद्य सामग्री प्रदान गरी सम्मान गरिएको थियो भने कक्षा ८, एसईई र कक्षा १२ मा राम्रो नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पनि सम्मानित गरिएको थियो।
कार्यक्रममा असल बचतकर्ता सम्मानअन्तर्गत नियमित बचततर्फ पुरुषोत्तम कर्माचार्य (पुरुष) र लक्ष्मी केशरी (महिला) तथा दैनिक बचतकर्तातर्फ सन्तोषी लामा सम्मानित भए। असल ऋणी सम्मानअन्तर्गत राजन शिल्पकार (पुरुष) र कृष्णमाया श्रेष्ठ (महिला) सम्मानित भएका छन्।
दीर्घकालीन सेवाका लागि कर्मचारी सम्मान पनि गरियो, जसअन्तर्गत प्रमुख कार्यकारी अधिकृत रेश्मी श्रेष्ठले २० वर्ष, वरिष्ठ सहायक रामचन्द्र दथेपुचेले २५ वर्ष तथा वरिष्ठ सहायक सुमित्रा कर्माचार्य र शङ्खराम कासुलाले १०–१० वर्षको सेवा पूरा गरेबापत सम्मान पाए।
संस्थाका अध्यक्ष कासुला र उपाध्यक्ष निर्मला सुवालको प्रमुख आयोजनामा सम्पन्न सभामा सचिव पुष्पलाल तिमिला, कोषाध्यक्ष धर्मरत्न शाक्य, लेखा सुपरीवेक्षण समिति संयोजक कृष्णप्रसाद नापित, प्रमुख सल्लाहकार बालमुकुन्द सुवाल, प्रमुख कार्यकारी अधिकृत रेश्मी श्रेष्ठलगायत विभिन्न सञ्चालक, सल्लाहकार, संस्थापक सदस्य र सर्वसाधारण सदस्यको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमको दोस्रो सत्रमा सचिव पुष्पलाल तिमिलाले वार्षिक प्रगति प्रतिवेदन तथा नीति एवं कार्यक्रम प्रस्तुत गरे भने उपाध्यक्ष निर्मला सुवालले आर्थिक प्रतिवेदन तथा आगामी वर्षको अनुमानित बजेट प्रस्तुत गरिन्। लेखा सुपरीवेक्षण समिति संयोजक कृष्णप्रसाद नापितले समितिको प्रतिवेदन र प्रमुख कार्यकारी अधिकृत रेश्मी श्रेष्ठले बाह्य लेखापरीक्षकको प्रतिवेदन प्रस्तुत गरेका थिए।
सोही क्रममा सञ्चालक समितिका निर्णय अनुमोदन तथा नीति–नियम संशोधनसमेत प्रस्तुत गरिएको थियो।
