विद्युत् महसुलमा लगाइएको भ्याट तत्काल हटाउन उद्योग वाणिज्य महासंघको माग

काठमाडौं, १२ असाेज । नेपाल उद्योग वाणिज्य महासंघले चालू आर्थिक वर्षदेखि विद्युत् महसुलमा लागू गरिएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

महासंघले विद्युत् औद्योगिक उत्पादन, व्यापार तथा पर्यटन क्षेत्रको आधारभूत पूर्वाधार भएकाले यसमा थप कर लगाउँदा उत्पादन लागत र सञ्चालन खर्च बढ्नुका साथै व्यवसायको नगद प्रवाह तथा प्रतिस्पर्धात्मक क्षमतामा प्रत्यक्ष असर परेको जनाएको छ ।

भ्याट थपिएपछि विशेषगरी उच्च ऊर्जा खपत गर्ने उद्योग, भ्याट छुट भएका कारोबारमा संलग्न व्यवसाय, साना तथा मझौला उद्योग तथा होटल–पर्यटन व्यवसायको लागत बढेको गुनासो व्यवसायीबाट आएको महासंघले जनाएको छ ।

कानुनले इनपुट ट्याक्स क्रेडिटको व्यवस्था गरे पनि कर समायोजन तथा फिर्ताको प्रक्रिया र कारोबारको प्रकृतिका कारण विद्युत्मा तिरेको भ्याट सबै व्यवसायले तत्काल वा पूर्ण रूपमा समायोजन गर्न नसक्ने अवस्था रहेको महासंघको भनाइ छ ।

यसबाट व्यवसायको सञ्चालन पुँजीमा दबाब पर्नुका साथै नयाँ लगानी, उद्योग विस्तार र रोजगारी सिर्जनामा समेत असर परेको महासंघले जनाएको छ । विद्युत् लागत बढ्दा त्यसको भार उपभोक्तासम्म पुग्न सक्ने र समग्र मूल्यवृद्धिमा थप चाप पर्न सक्ने उसको भनाइ छ ।

महासंघका अनुसार विद्युत्को आन्तरिक खपत बढाउँदै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमार्फत औद्योगिकीकरणलाई गति दिनुपर्ने समयमा ऊर्जा लागत बढाउने नीतिले निजी क्षेत्रको लगानी र उत्पादन विस्तारमा चुनौती थपेको छ ।

महासंघले उद्योगका लागि नियमित, गुणस्तरीय र भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्नसमेत सरकारसँग आग्रह गरेको छ । भोल्टेजको उतारचढाव, अचानक विद्युत् अवरोध तथा अन्य प्राविधिक समस्याबाट हुने उत्पादन र मेसिनरीको क्षति न्यूनीकरण गर्न आवश्यक कदम चाल्न पनि माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *