पूर्वप्रधानन्यायाधीश जबरा पक्राउप्रति राष्ट्रिय सभामा प्रश्न? ‘सरकारको कार्यशैली निरंकुश’
काठमाडौं, १२ असाेज। राष्ट्रिय सभा सदस्य आनन्दप्रसाद ढुंगानाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मध्यरातमा नियन्त्रणमा लिइएको घटनाप्रति आपत्ति जनाउँदै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।
सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद ढुंगानाले जबरालाई बिनापुर्जी र मध्यरातमा नियन्त्रणमा लिइएको घटनालाई पञ्चायतकालको स्मरण गराउने भन्दै सरकार निरंकुश शैलीमा अघि बढेको आरोप लगाए ।
उनले कानूनको शासनको उपहास भइरहेको दाबी गर्दै जबराको नियन्त्रणमा लिने घटनालगायत समसामयिक विषयमा प्रधानमन्त्री र गृहमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने माग गरे ।
‘हिजो पञ्चायतकालमा सिभिल ड्रेसमा आएर बिना जानकारी गिरफ्तारी हुन्थ्यो, आज लोकतन्त्रमा पनि त्यस्तै अवस्था देखिनु चिन्ताजनक छ,’ ढुंगानाले भने, ‘दुई तिहाइको दम्भमा सरकारले स्वेच्छाचारी निर्णय लिइरहेको छ ।’ उनले कुनै पनि घटनाबारे संसद्लाई जानकारी गराउनु र जनताप्रति उत्तरदायी हुनु सरकारको संवैधानिक दायित्व भएको बताए ।
जबरालाई आइतबार बिहान महाराजगञ्जस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले उनलाई सुरक्षा जोखिम रहेको सूचनाका आधारमा सुरक्षित स्थानमा लैजानुपरेको बताएको थियो । करिब १२ घण्टापछि उनलाई आफन्तको जिम्मा लगाइएको थियो ।
