चाडपर्वमा यात्रु ठगी र दुर्घटना रोक्न ट्राफिक प्रहरीको विशेष अभियान

काठमाडौं, १२ असाेज । चाडपर्वका समयमा यात्रुको सुरक्षा, सवारी दुर्घटना नियन्त्रण तथा यात्रु ठगी रोक्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले विशेष अभियान सञ्चालन गर्ने भएको छ ।

चाडपर्व नजिकिएसँगै देशभर यात्रुको आवतजावत बढ्ने भएकाले सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न विशेष चेकजाँच तथा अनुगमनको तयारी गरिएको हो ।

उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार अनधिकृत व्यक्तिबाट टिकट बिक्री, तोकिएभन्दा बढी भाडा असुली, सिट क्षमताभन्दा बढी टिकट बिक्री तथा एउटै सिटमा धेरै टिकट बिक्री गर्ने जस्ता गतिविधि नियन्त्रणमा विशेष निगरानी गरिनेछ ।

चाडपर्वका बेला तीव्र गति, क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने र सवारीसाधनबीच हुने अस्वस्थ प्रतिस्पर्धाका कारण दुर्घटनाको जोखिम बढ्ने भएकाले ट्राफिक नियमको कार्यान्वयनलाई कडाइ गरिने काफ्लेले बताउनुभयो ।

यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै उपत्यकाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी संयुक्त रूपमा विशेष चेकजाँच तथा अनुगमन गरिने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेन्द्रराज सुवेदीका अनुसार बसपार्क, चाबहिल, कोटेश्वर, चापागाउँ, बल्खु, पुल्चोक, नागढुङ्गा, कलङ्की, भीमढुङ्गा र साँखुलगायत मुख्य स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिनेछ ।

अभियानका क्रममा सवारीसाधनको यान्त्रिक अवस्था र प्रदूषण जाँच गरिनेछ । लामो दूरीका सवारीसाधनमा अनिवार्य दुई चालक राख्नुपर्ने कानुनी व्यवस्थालाई समेत कडाइका साथ कार्यान्वयन गरिने प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति नियन्त्रण गर्न ब्रेथलाइजरमार्फत जाँच तथा अनुगमनलाई तीव्रता दिइने सुवेदीले बताउनुभयो । दिवा तथा रात्रिकालीन समयमा सडकमा ट्राफिक प्रहरीको उपस्थिति बढाएर सुरक्षित यात्राको व्यवस्था मिलाइनेछ ।

अभियानलाई प्रभावकारी बनाउन सिभिल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग, सडक विभाग तथा महानगर प्रहरीबीच समन्वय गरी एकीकृत रूपमा परिचालन गरिने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *