पाकिस्तानको हवाई प्रतिबन्धबीच चीनसँग वैकल्पिक हवाई मार्गबारे भारतको वार्ता
एजेन्सी, १४ असोज । पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्रमाथिको प्रतिबन्ध निरन्तरता दिएपछि भारतले वैकल्पिक हवाई मार्गका लागि चीनसँग छलफल अघि बढाएको छ । भारतीय अधिकारीहरूले चीनको पश्चिमी सिन्जियाङ क्षेत्र हुँदै विशेषगरी होतान आसपासबाट हवाई मार्ग प्रयोग गर्ने सम्भावनाबारे चिनियाँ पक्षसँग कुराकानी गरिरहेको स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
स्रोतका अनुसार भारतको विदेश मन्त्रालयले यस विषयमा चिनियाँ समकक्षीसँग लामो समयदेखि छलफल गरिरहेको छ । प्रस्तावित मार्गले पाकिस्तानको हवाई क्षेत्र प्रयोग नगरी युरोप तथा उत्तर अमेरिकातर्फ जाने भारतीय विमानलाई वैकल्पिक बाटो उपलब्ध गराउन सक्ने बताइएको छ ।
चीनको सिन्जियाङमा केही हवाई क्षेत्र सैन्य नियन्त्रणमा रहेकाले त्यहाँबाट उडान सञ्चालनका लागि आवश्यक अनुमति प्राप्त गर्नु चुनौतीपूर्ण रहेको भारतीय अधिकारीहरूले बताएका छन् । अहिलेसम्म यस विषयमा भारत र चीनबीच कुनै औपचारिक सहमति भइसकेको छैन ।
यसैबीच, पाकिस्तान एयरपोर्ट्स अथोरिटीले जारी गरेको ‘नोटिस टु एयरमेन’ मार्फत भारतीय विमानमाथिको हवाई क्षेत्र प्रतिबन्ध अक्टोबर २४ सम्म विस्तार गरेको छ । यसअघि प्रतिबन्ध सेप्टेम्बर २४ सम्म कायम रहने तय थियो । नयाँ प्रतिबन्ध भारतीय दर्ताका विमान तथा भारतीय एयरलाइन्स वा अपरेटरले सञ्चालन, स्वामित्व वा भाडामा लिएका विमानमा लागू हुने जनाइएको छ ।
भारत र पाकिस्तानबीच सन् २०२५ अप्रिलमा जम्मु–कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि हवाई क्षेत्रमा प्रतिबन्धसहितका कदम सुरु भएका थिए । उक्त हमलामा २६ जनाको मृत्यु भएको थियो, जसमा एक नेपाली नागरिकसमेत थिए । भारतले हमलाका लागि पाकिस्तानस्थित आतंकवादी समूहलाई जिम्मेवार ठहर गर्दै आएको छ भने पाकिस्तानले आरोप अस्वीकार गर्दै आएको छ ।
पहलगाम हमलापछि भारतले ‘अपरेसन सिन्दूर’ सञ्चालन गरेको थियो । भारतीय सरकारका अनुसार उक्त कारबाही पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा रहेका आतंकवादी पूर्वाधारलाई लक्षित गरेर गरिएको थियो । पाकिस्तानले भने भारतको कारबाहीप्रति आपत्ति जनाउँदै प्रतिकार गरेको थियो ।
पाकिस्तानको हवाई क्षेत्र प्रयोग गर्न नपाउँदा भारतबाट युरोप तथा उत्तर अमेरिकातर्फ जाने केही उडानले लामो वैकल्पिक मार्ग प्रयोग गर्नुपरेको छ । यसले उडान समय र सञ्चालन लागत बढाएको भारतीय पक्षको भनाइ छ ।
