बाढीपहिरोबाट क्षतिग्रस्त सडक र पुल तत्काल मर्मत गर्न राष्ट्रियसभा सांसदको माग

काठमाडौँ, १६ असोज । राष्ट्रियसभाका सांसदहरूले बाढीपहिरोबाट क्षतिग्रस्त सडक, पुल तथा अन्य संरचना तत्काल मर्मतसम्भार गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले विपद्बाट प्रभावित क्षेत्रमा आवतजावत सहज बनाउन, क्षतिग्रस्त संरचना पुनः सञ्चालनमा ल्याउन तथा प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नुभएको हो।

सांसद गोमादेवी तिमिल्सिनाले भोटेकोशी बाढीबाट ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै बाढीका कारण रोकिएका कन्टेनरलाई सम्बन्धित नाकासम्म लैजान आवश्यक सहजीकरण गर्न सरकारसँग आग्रह गर्नुभयो।

सांसद जगतबहादुर पार्कीले कञ्चनपुरको दादरा–चाँदनी पुल क्षतिग्रस्त हुँदा करिब ५० हजार जनसङ्ख्याको आवतजावत प्रभावित भएको भन्दै पुलको तत्काल मर्मतसम्भार गर्न माग गर्नुभयो। सांसद नरबहादुर विष्टले भोटेचौर क्षेत्रमा अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो।

सांसद राजेन्द्रलक्ष्मी गैरैले असोज ८ देखि ११ गतेसम्म आएको बाढीपहिरोका कारण अवरुद्ध सडक तथा बाटो तत्काल मर्मत गर्न र प्रभावित किसानलाई क्षतिपूर्ति दिन माग गर्नुभयो। सांसद सुरेशकुमार आलेमगरले दसैँका बेला सर्वसाधारणको आवतजावत सहज बनाउन क्षतिग्रस्त सडक तथा बाटोघाटो तत्काल मर्मत गर्न आग्रह गर्नुभयो।

यसैगरी सांसद भुवनबहादुर सुनुवारले दलितसम्बन्धी ऐन निर्माणको प्रक्रिया शीघ्र अघि बढाउनुपर्नेमा जोड दिनुभयो। सांसद युवराज शर्माले जलवायु न्यायका लागि नेपालले अन्तर्राष्ट्रियस्तरमा प्रभावकारी आवाज उठाउनुपर्ने बताउनुभयो। सांसद मदनकुमारी शाह गरिमाले पनि शून्य समयमा समसामयिक विषयमा धारणा राख्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *