बाढीपहिरोले पर्वतमा ३०० परिवार विस्थापित: १७० घर पूर्ण रूपमा क्षतिग्रस्त, ग्रामीण सडक अझै अवरुद्ध
पर्वत, १८ असोज । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण पर्वत जिल्लाभर ३०० परिवार विस्थापित भएका छन्। प्राकृतिक विपत्तिका कारण जिल्लाका १७० घर पूर्ण रूपमा भत्किएका छन् भने १३१ घरमा आंशिक क्षति पुगेको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार पर्वतका सातवटापालिकामध्ये छ वटा पालिकाका विभिन्न बस्तीहरू बाढीपहिरोबाट नराम्ररी प्रभावित भएका छन्।
जलजला गाउँपालिका सर्वाधिक प्रभावित
बाढीपहिरोबाट सबैभन्दा बढी क्षति जलजला गाउँपालिकामा भएको छ। जलजलामा ११३ वटा घरमा ठूलो क्षति पुगेको छ भने थप ५८ वटा घर पहिरोको उच्च जोखिममा परेका छन्। जसका कारण जलजलाका मात्रै १७१ परिवार विस्थापित हुन पुगेका छन्।
यस्तै, कुश्मा नगरपालिकामा दुई, फलेवास नगरपालिकामा २०, बिहादी गाउँपालिकामा नौ, महाशिला गाउँपालिकामा दुई र मोदी गाउँपालिकामा १५ वटा घर पूर्ण रूपमा क्षति भएको प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिनुभयो।
पर्वतमा बाढीपहिरोले पुर्याएको क्षतिको विवरण:
| विवरण | संख्या / अवस्था |
| कुल विस्थापित परिवार | ३०० |
| पूर्ण रूपमा क्षतिग्रस्त घर | १७० |
| आंशिक क्षति भएका घर | १३१ |
| सर्वाधिक प्रभावित पालिका | जलजला गाउँपालिका (१७१ परिवार विस्थापित) |
| क्षतिग्रस्त सार्वजनिक संरचना | ५ वटा विद्यालय भवन, कृषि फार्म, मन्दिर, स्वास्थ्य चौकी र प्रहरी चौकी |
| क्षतिग्रस्त पुलहरू | पर्वत–बागलुङ जोड्ने झोलुङ्गे पुल र मध्यपहाडी लोकमार्गको मालढुङ्गा पुल |
