अमेरिकासँगको तनाव चुलिएसँगै इरानमा महिलाहरूलाई पनि सैन्य तालिम, सार्वजनिक चोकहरू तालिम केन्द्रमा परिणत
इरानी सेनाले विदेशी आक्रमणको अवस्थामा देशको रक्षाका लागि नागरिकलाई परिचालन गर्ने लक्ष्यसहित ‘जनफदा–ये इरान’ (देशका लागि बलिदान गर्न तयार स्वयंसेवक परिचालन) अभियान अघि बढाएको छ। सेप्टेम्बरमा तेहरानमा आयोजित विशाल र्यालीपश्चात यो अभियान थप व्यापक बनेको हो।
तेहरान । अमेरिका र इजरायलसँगको बढ्दो भूराजनीतिक तनाव र सम्भावित सैन्य द्वन्द्वको जोखिमलाई मध्यनजर गर्दै इरानले सर्वसाधारण नागरिकलाई सैन्य तालिम दिने अभियानलाई तीव्र पारेको छ। यसैक्रममा राजधानी तेहरानका विभिन्न सार्वजनिक चोक तथा स्क्वायरहरूमा महिला स्वयंसेवकहरूले समेत हतियार चलाउने र युद्धसम्बन्धी प्रारम्भिक सैन्य अभ्यास गरेका छन्।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार तेहरानको इमाम हुसेन स्क्वायरमा आयोजित विशेष सत्रमा महिला स्वयंसेवकहरूले सैन्य प्रशिक्षकहरूको निगरानीमा बन्दुक समात्ने, प्रयोग गर्ने तथा गोली चलाउने अभ्यास गरेका छन्। इरानले सम्भावित अमेरिकी वा इजरायली स्थल आक्रमणको सामना गर्न नागरिकस्तरमै तयारी गराउने उद्देश्यले यो अभियान सञ्चालन गरेको हो। यसअघि ३ अक्टोबरमा तेहरानको हफ्ट–ए–तिर स्क्वायरमा पनि यस्तै किसिमको नागरिक सैन्य तालिम केन्द्र सञ्चालनमा ल्याइएको थियो।
तालिममा सहभागी ४५ वर्षीया राहेले घदिरीले रोयटर्ससँग कुरा गर्दै भनिन्, “युद्धको अवस्थामा आफ्नो परिवार र छिमेकको सुरक्षा गर्न सक्ने सीप हासिल गर्दा आफूमा रहेको डर कम भएको छ।” यसबाट यो तालिमलाई केवल औपचारिक सैन्य अभ्यास मात्र नभई संकटको घडीमा परिवार र समुदायको सुरक्षा गर्ने पूर्वतयारीका रूपमा हेरिएको प्रष्ट हुन्छ।
‘जनफदा’ अभियानअन्तर्गत सार्वजनिक चोकहरूमा तालिम
इरानी सेनाले विदेशी आक्रमणको अवस्थामा देशको रक्षाका लागि नागरिकलाई परिचालन गर्ने लक्ष्यसहित ‘जनफदा–ये इरान’ (देशका लागि बलिदान गर्न तयार स्वयंसेवक परिचालन) अभियान अघि बढाएको छ। सेप्टेम्बरमा तेहरानमा आयोजित विशाल र्यालीपश्चात यो अभियान थप व्यापक बनेको हो।
एसोसिएटेड प्रेस (AP) र स्पेनी समाचार संस्था EFE का अनुसार तेहरानका सार्वजनिक चोकहरूलाई नै सैन्य प्रशिक्षणस्थलमा परिणत गरिएको छ। यहाँ स्वयंसेवकहरूलाई आधारभूत हतियार सञ्चालन, प्राथमिक उपचार, लामो नाल भएका हतियार, बहु–रकेट प्रक्षेपण प्रणाली तथा हवाई प्रतिरक्षा प्रणालीसम्बन्धी अभ्यास गराइएको छ। तालिममा सहभागी हुन ठूलो संख्यामा महिला तथा किशोरहरूले नाम दर्ता गराएको इरानी अधिकारीहरूले दाबी गरेका छन्।
पछिल्लो समय तेहरानले अपनाएको यो रणनीतिले इरान र पश्चिमा देशहरूबीचको द्वन्द्व थप गहिरिँदै गएको र तेहरान सम्भावित दीर्घकालीन वा व्यापक सैन्य टकरावका लागि नागरिकस्तरबाटै प्रतिरोधको तयारीमा जुटेको कूटनीतिक विश्लेषकहरूले औँल्याएका छन्।
