नक्कली नोट कारोबार गरेको आरोपमा दुई पक्राउ

एक हजार रुपियाँ दरका १९ थान नक्कली नोट

काठमाडौँ, असोज २० । बोका खरिदका क्रममा नक्कली नोट प्रयोग गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका ९ ककनीबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चम्पादेवी गाउँपालिका केउरिनीका २१ वर्षीय कृष्ण खत्री र ३३ वर्षीय ध्रुवबहादुर खत्री रहेका छन् । उनीहरूले स्थानीय हस्तबहादुर तामाङ र वीरबहादुर तामाङबाट तीन बोका खरिद गर्दा २८ हजार रुपियाँको कारोबार गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनका अनुसार कारोबारका क्रममा उनीहरूले १९ हजार रुपियाँ बराबरका एक हजार रुपियाँ दरका १९ थान नक्कली नोट प्रयोग गरेको पाइएको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा उक्त नक्कली नोट काठमाडौँबाट ल्याइएको खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक महर्जनले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *