आज दिनभर देशभर वर्षा, शनिबारदेखि मौसममा सुधार हुने
काठमाडौं, २१ असाेज । देशका अधिकांश स्थानमा आज दिनभर वर्षा हुने भएको छ। नेपाल मौसम विज्ञान विभागका अनुसार वर्षाको क्रम शुक्रबारसम्म जारी रहनेछ भने शनिबारदेखि मौसममा क्रमशः सुधार आउने सम्भावना छ।
मौसमविद् रोजन लामिछानेका अनुसार हाल अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ। उहाँका अनुसार आज दिनभर वर्षा हुने भए पनि रातिदेखि केही सुधार आउनेछ। शुक्रबार दिउँसो भने पुनः वर्षा हुने सम्भावना रहेको उहाँले बताउनुभयो।
“अधिकांश स्थानमा अहिले मेघगर्जनसहित वर्षा भइरहेको छ। आज दिनभर वर्षा हुने र रातिदेखि केही सुधार हुनेछ। शुक्रबार दिउँसो पुनः पानी पर्ने सम्भावना छ। शनिबारदेखि भने मौसममा सुधार आउनेछ,” लामिछानेले भन्नुभयो।
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको समेत प्रभाव रहेको विभागले जनाएको छ।
आज पूर्वी नेपालमा तुलनात्मक रूपमा कम वर्षा हुने भए पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।
आज सबैभन्दा धेरै वर्षा अर्घाखाँचीको सिमलपानी केन्द्रमा ५८.२ मिलिमिटर मापन गरिएको छ। विभागका अनुसार उक्त वर्षा भारी वर्षाको श्रेणीमा पर्छ। हाल काठमाडौं उपत्यकासहित बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी तथा असिनासहित मध्यम वर्षा भइरहेको छ।
