कांग्रेसको केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

कांग्रेसको १५औँ महाधिवेशन

काठमाडौँ, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ । महाधिवेशनमा सहभागी सात हजार २५५ प्रतिनिधिले पार्टीको आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन् ।

केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार बिहीबार बिहान ७ बजेदेखि मतदान गर्ने पूर्वनिर्धारित कार्यक्रम भए पनि वर्षा तथा केही प्राविधिक कारणले मतदान तीन घण्टा ढिला गरी सुरु गर्न लागिएको हो ।

मतदानका लागि काठमाडौँका तीन स्थानमा सात मतदान केन्द्र तोकिएका छन् । महाधिवेशन प्रतिनिधिलाई सहज हुने गरी प्रदेश तथा प्रतिनिधित्वका आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार राष्ट्रिय सभागृह, खुलामञ्च र नेपाल प्रज्ञा–प्रतिष्ठानमा मतदान केन्द्र तोकिएका छन् । राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन् । भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकालाई पनि खुलामञ्चमै मतदान गर्ने व्यवस्था गरिएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ । सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिले तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्ने निर्वाचन समितिले जनाएको छ ।

संयोजक खड्काका अनुसार मतदान बिहान १० बजेदेखि सुरु हुनेछ । मतदानअघि प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ । रुजु प्रक्रिया पूरा भएपछि मात्र सम्बन्धित प्रतिनिधिले मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *