भोटेकोशी बाढीपीडितका लागि साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता
काठमाडौं, २२ असोज । साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र (केएस रिलिफ) मार्फत नेपाललाई मानवीय तथा राहत सामग्री उपलब्ध गराएको छ।
केएस रिलिफले प्रदान गरेको सहायता सामग्री नेपालका लागि साउदी अरबका राजदूत फहद बिन मोहम्मद बिन म्नैखिरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई हस्तान्तरण गर्नुभएको हो।
सहयोग हस्तान्तरणका क्रममा मन्त्री पुनले मानवीय सहायता उपलब्ध गराएकोमा साउदी अरबको नेतृत्वप्रति आभार व्यक्त गर्नुभयो। उहाँले उक्त सहयोगले नेपाल र साउदी अरबबीचको गहिरो मित्रता र सहकार्यलाई प्रतिबिम्बित गरेको बताउनुभयो।
काठमाडौंस्थित साउदी राजदूतावासका अनुसार केएस रिलिफको विशेषज्ञ टोलीले सम्बन्धित नेपाली निकायसँग समन्वय गरी प्राप्त सहायता सामग्री भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई वितरण गरिनेछ ।
