हिल्सा नाका बन्द हुँदा सीमामा खाद्यान्न र औषधिको अभाव, दसैंमा घर फर्किनै कठिन
हुम्ला, २३ असोज । चीनसँगको सीमावर्ती हिल्सा नाका लामो समयदेखि बन्द हुँदा त्यहाँ रहेका नेपाली नागरिक र सुरक्षाकर्मी खाद्यान्न, खानेपानी तथा स्वास्थ्य उपचारको अभाव झेल्न बाध्य भएका छन्। नाका बन्द भएपछि दैनिक उपभोग्य वस्तुको अभाव बढ्दै गएको छ भने दसैंमा घर फर्किन चाहने नागरिकसमेत समस्यामा परेका छन्।
गत असोज ९ गतेदेखि नाका बन्द हुँदा हिल्सामा हरियो सागसब्जी देख्नसमेत मुस्किल भएको स्थानीय र सुरक्षाकर्मी बताउँछन्। माछामासु खान नपाएको लामो समय भइसकेको छ भने मौज्दातमा रहेको दालको झोलसँग खाना खानुपर्ने अवस्था आएको हिल्सा सीमा सुरक्षा चौकी (बीओपी)का इन्स्पेक्टर केदार सापकोटाले बताउनुभयो।
नाका बन्द हुँदा हिल्सामा स्वास्थ्य उपचारको समस्या पनि गम्भीर बनेको छ। त्यहाँ स्वास्थ्यचौकी वा मेडिकलसमेत नहुँदा बिरामी पर्दा उपचार पाउन कठिन भएको सापकोटाले बताउनुभयो।
सशस्त्र प्रहरी बलका एक जवानले सीएमए तालिम लिएका छन्। उनीसँग उपलब्ध सामान्य औषधि, विशेषगरी सिटामोलको भरमा बिरामीको उपचार गर्नुपर्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो।
चीनतर्फको नाका खुलेपछि बिहीबार १४४ जना नेपाली नागरिक नेपाल प्रवेश गरेका छन्। उनीहरूमध्ये केहीले हिउँ जमेको बाटो हुँदै फर्किनुपरेको छ। केही नागरिक पैदल यात्रामार्फत अघि बढिसकेका छन् भने केही शुक्रबार बिहानै हिल्साबाट हिँड्ने तयारीमा छन्।
नेपालतर्फको सडकमा जमेको हिउँ पन्छाउने काम भने बुधबारदेखि मात्रै सुरु भएको हो। नारा लेक क्षेत्रमा सडक सफा गर्न सानो स्काभेटर प्रयोग गरिए पनि त्यसबाट दैनिक बढीमा एकदेखि दुई किलोमिटर मात्रै हिउँ हटाउन सकिने अवस्था रहेको छ।
सडक सफाइको गति सुस्त हुँदा हिल्सामा रोकिएका नागरिकमा चिन्ता बढेको छ। दसैंसम्म पनि घर पुग्न नसकिने अवस्था आउन सक्ने भन्दै बिहीबार एक सयभन्दा बढी नेपालीले हिल्साबाट पैदल यात्रा सुरु गरेका छन्।
हिल्सामा हाल सशस्त्र प्रहरीका ३५, नेपाल प्रहरीका २०, अध्यागमन कार्यालयका चार र भन्सार कार्यालयका चार गरी ६३ जना सरकारी कर्मचारी कार्यरत छन्। त्यहाँ केही स्थानीय नागरिकसमेत बस्दै आएका छन्।
लामो समयदेखि नाका बन्द हुनु, सडकमा बाक्लो हिउँ जम्नु, खाद्यान्न अभाव र स्वास्थ्य सेवाको पहुँच नहुनुले हिल्साको जनजीवन थप कष्टकर बनेको छ।
