भोटेकोशी विपत्तिका ४५ दिन : बगेको बस्ती, हराएको चैन

रसुवा, २३ असोज । रसुवाको भोटेकोशीमा विनाशकारी बाढी आएको ४५ दिन बितिसकेको छ। तर स्याफ्रुबेँसीका कान्छा तामाङको मनबाट त्यो कहालीलाग्दो क्षण अझै हट्न सकेको छैन। आँखैअगाडि बस्तीलाई बाढीले बगाएको दृश्य उहाँको स्मृतिमा कहिलेसम्म रहिरहने हो, उहाँलाई थाहा छैन।

कहिलेकाहीँ अझै पनि त्यो सबै सपना हो कि जस्तो लाग्छ कान्छालाई। तर भदौ १० गतेको बाढीको भेल उहाँका आँखामा नाच्न छाडेको छैन। बाढीको गड्याङगुडुङ आवाज कानमा गुञ्जिरहन्छ। भेलमा बग्दै गरेका आफन्तका चिच्याहट सम्झँदा मन काँप्छ। ती घटना बिर्सन सके पो मन हलुका हुन्थ्यो।

बाढीमा ज्यान गुमाएका आफन्त र गाउँले अब कहिल्यै फर्केर आउने छैनन्। बेपत्ता प्रियजन फर्कने आशासमेत लगभग मरिसकेको छ। तैपनि कतैबाट फर्केर आइपुग्छन् कि भन्ने झिनो भ्रमले उहाँको मन छाडेको छैन।

आँखैअगाडि बगिरहेका मानिस र क्षणभरमै बगरमा परिणत भएको सुन्दर बस्ती सम्झँदा कान्छाको मन भक्कानिन्छ। उजाड बगर हेर्दा आँखा रसाउँछन्। कुनै समय जीवन्त रहेको बस्ती यति छोटो समयमा यस्तो कुरूप बन्ला भन्ने कल्पनासमेत उहाँले गर्नुभएको थिएन।

आँखैअगाडि बग्यो बस्ती, बचाउन सकेनन् आफन्त
त्यो दिन बाढीको भेल असामान्य रूपमा तीव्र थियो। ठूलो आवाज सुनेपछि के भएछ भनेर हेर्दा बाढी उर्लिरहेको थियो। कान्छा केही अग्लो स्थानमा पुगेर ज्यान जोगाउन सफल हुनुभयो। तर सुरक्षित ठाउँमा पुगेपछि उहाँले देखेको दृश्य झनै भयावह थियो।

“गड्याङगुडुङ गरेर ठूलो आवाज आयो। के रहेछ भनेर हेर्दा त ठूलो बाढी रहेछ,” कान्छा त्यो दिन सम्झनुहुन्छ, “बेतोडले भागेर अलि माथि पुगेँ। तल हेर्दा मानिस बगिरहेका थिए। कोही चिच्याइरहेका थिए। हेर्दाहेर्दै स्याफ्रुबेँसी बजारलाई बाढीले बगायो।”

आफू सुरक्षित ठाउँमा पुगे पनि अरूलाई जोगाउन नसकेको पीडा उहाँको मनमा गहिरो गरी बसेको छ।

“सयौँ मानिस बगेको हेर्नुपर्‍यो। त्यस्तो भेलमा पसेर उनीहरूलाई जोगाउन सकिने अवस्था थिएन,” उहाँ भन्नुहुन्छ, “बगिरहेको हेर्नुबाहेक अर्को विकल्प नै के थियो र? सम्झँदा पनि अहिले आङ सिरिङ्ग हुन्छ।”

त्यस दिनको बाढीले कान्छाका बाल्यकालदेखिका सम्झनासमेत बगाएर लग्यो। सँगै खेलेका साथी, परिचित अनुहार र आफूले चिनेको बस्ती अहिले सम्झनामा मात्रै सीमित छन्। बाढीको गर्जन, एकाएक उर्लिएको भेल, मानिसका चिच्याहट र आँखैअगाडि बगिरहेको बस्तीको दृश्य उहाँको मानसपटलमा बारम्बार दोहोरिइरहन्छ।

विपद् फेरि दोहोरिने डरले हरायो निद्रा

बाढी गएको यतिका दिन बितिसक्दा पनि कान्छाको मनमा डर उस्तै छ। कतै फेरि ठूलो विपद् दोहोरिने त होइन भन्ने चिन्ताले उहाँलाई सताइरहन्छ।

“त्यो दिन सम्झँदा अहिले पनि डर लाग्छ,” उहाँ भन्नुहुन्छ, “फेरि यस्तै विपद् दोहोरिन्छ कि भन्ने डर लागिरहन्छ। रातभर आनन्दले निद्रासमेत पर्दैन।”

कान्छाकी श्रीमती ल्हात्सेन डोल्पालाई पनि आँखैअगाडि देखेको त्यो घटना न सम्झिन मन छ, न सजिलै बिर्सन सक्नुहुन्छ। उहाँका कैयौँ रात डरैडरमा बितेका छन्। समय बित्दै गए पनि मनको त्रास हट्न सकेको छैन।

“आकाशमा मेघ गर्जंदा पनि डर लाग्छ। हामीलाई जिन्दगीभर नबिर्सने छाप छाडेको छ त्यो बाढीले,” उहाँ भन्नुहुन्छ।

स्थानीय सन्दु ज्ञावालेले पनि त्यही बाढीमा आफ्ना छ जना आफन्त गुमाउनुभयो। बाढीले बगाएको बस्ती फेरि बनाउन सकिएला, भत्किएका घर, सडक र अन्य संरचना पुनर्निर्माण गर्न सकिएला। तर बाढीले खोसेका आफन्त कहिल्यै फर्कने छैनन्। यही यथार्थले उहाँलाई हरेक दिन सताइरहेको छ।

सन्दुको घर भने बाढीबाट जोगियो। घर बचेकोमा खुसी हुनुपर्ने हो, तर घरको आँगनमा उभिएर तल हेर्दा देखिने उजाड बगरले उहाँको मन झन् भारी बनाउँछ। आफ्नो घर र ज्यान जोगिएको खुसीभन्दा बस्ती र आफन्त गुमाएको पीडा ठूलो छ।

“बस्ती त फेरि बनाउन सकिन्छ होला। घर पनि फेरि बनाउन सकिन्छ, तर गुमाएका मान्छे कसरी फर्काउने?” सन्दुको यो भनाइले बाढीले छाडेको पीडाको गहिराइ प्रस्ट पार्छ।

गत वर्ष पनि यसपटकजस्तै भारी वर्षा नभई भोटेकोशीमा बाढी आएको थियो। तर त्यतिबेला यस्तो विनाश भएको थिएन। अहिले सन्दुको मनमा अर्को डरले डेरा जमाएको छ—फेरि यसभन्दा ठूलो बाढी आयो भने के होला?

“अब त ठूलो बाढी जुनसुकै बेला आउला भन्ने डर लाग्छ। बचेको घर पनि कुनै दिन बगाएर लैजाला कि भन्ने चिन्ता हुन्छ,” उहाँ भन्नुहुन्छ।

त्यस दिन बाढी आउँदैछ भन्ने पूर्वसूचना आफूहरूले नपाएको सन्दु बताउनुहुन्छ। नदीको आवाज अस्वाभाविक सुनिएपछि के भएछ भनेर हेर्दा ठूलो बाढी उर्लिरहेको थियो।

“हामीले बाढी आउँदैछ भन्ने सूचना पाएका थिएनौँ। त्यस दिन बाढी आएको देख्नेबित्तिकै सुस्केरा हालेर आवाज दिन खोजेँ। कसैले सुनेन,” उहाँ भन्नुहुन्छ।

उर्लिरहेको बाढीको गर्जनसामु एक व्यक्तिको आवाज कति नै सुनिन्थ्यो र! सुनिहाले पनि भाग्न भ्याउने अवस्था थिएन। सन्दुले आवाज दिँदादिँदै उहाँकै आँखाअगाडि बाढीले बस्ती र मानिसलाई बगायो।

“अझै पनि यी सबै सपना भइदिए हुन्थ्यो जस्तो लाग्छ। बिहान उठ्दा ‘अँ, धन्न सपना पो रहेछ’ भन्न पाए हुन्थ्यो,” उहाँ भन्नुहुन्छ।

तर त्यो सपना होइन, कठोर यथार्थ हो। जसलाई स्वीकार गर्नुको विकल्प छैन।

स्याफ्रुबेँसी बजारको उजाड बगर हेर्दा सन्दुलाई आफन्तको सम्झनाले सताउँछ। घरको आँगनमा उभिँदा आफ्नो घर बचेको र आफू बाँचेको खुसीभन्दा गुमाएका आफन्तको पीडा बल्झिन्छ। बाढीको भेल तलतिर बगेर गयो, तर त्यसले सन्दु र अन्य बाँचेकाको मनमा छाडेको त्रास अझै हटेको छैन।

विपद्पछि थपियो दैनिक गुजाराको सङ्घर्ष

भोटेकोशीमा बाढी आएको ४५ दिन बितिसकेको छ। बाढीले खोसेका जीवन फर्कने छैनन्। बेपत्ता आफन्त भेटिने आशा पनि कमजोर बन्दै गएको छ। बाँचेका मानिस भने गुमाएका आफन्तको सम्झनामा टोलाइरहेका छन्।

हिजो सुन्दर बस्ती, हराभरा खेत र प्राकृतिक सौन्दर्यले भरिएको क्षेत्र अहिले उजाड बगरमा परिणत भएको छ। त्यो दृश्य देख्ने जोकोहीको मन भारी हुन्छ।

बाढीबाट जोगिएकाको जीवन पनि सहज छैन। घरबार र आफन्त गुमाएका परिवारको पीडासँगै दैनिक गुजारा चलाउने चुनौती थपिएको छ। प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यक सामान खरिद गर्नसमेत कठिन भइरहेको छ।

“महँगी असाध्यै छ। हामी प्रभावित क्षेत्रका भए पनि प्रभावित परिवारमा नपरेकाले राहत लिन जान पनि मन लाग्दैन। किनेर खान पनि नजिकै ठाउँ छैन। अलि टाढा जाँदा असाध्यै महँगो पर्छ,” सन्दु भन्नुहुन्छ, “बाँच्नेलाई पनि जिउन निकै गाह्रो छ।”

विपत्तिले दिएको पीडा र अभावबीच पनि सन्दुको मनमा सामान्य जीवनमा फर्किने झिनो आशा बाँकी छ। सडक बन्ला, पुल बन्ला, बस्ती फेरि बस्ला र उजाडिएको ठाउँमा पुरानै सौन्दर्य फर्किएला भन्ने आशाले उहाँलाई बाँच्ने हौसला दिएको छ।

पुनर्निर्माणपछि जीवन फेरि सहज बन्ने विश्वास त छ, तर त्यसका लागि कति समय कुर्नुपर्ने हो भन्ने उहाँलाई थाहा छैन। अहिले उहाँसँग गुमाएका आफन्तको कहिल्यै नमेटिने सम्झना, विपद्ले छाडेको पीडा र जीवन फेरि लयमा फर्किने प्रतीक्षा मात्रै बाँकी छ।

आवतजावतको विकल्प तुइन, जोखिमको त्रास उस्तै

बाढीले सडक तथा पुलमा क्षति पुर्‍याएपछि स्थानीयवासीलाई आवतजावत गर्न पनि कठिन भएको छ। केही सामान किन्न वा उपचारका लागि जानुपर्दा घण्टौँ कुरेर तुइनबाट खोला तर्नुपर्ने बाध्यता रहेको कान्छा तामाङ बताउनुहुन्छ।

“तुइनबाट खोला तर्दातर्दै अझ ठूलो बाढी आउँछ र तुइनसहित बगाउला कि भन्ने डर लाग्छ। के गर्नु, तुइनबाहेक अन्य केही विकल्प नै छैन,” उहाँ भन्नुहुन्छ।

रसुवासहित बाढी प्रभावित क्षेत्रमा वैकल्पिक आवतजावतका लागि चारवटा तुइन निर्माण गरी सञ्चालनमा ल्याइएको छ। स्थानीय पूर्वाधार विकास विभागका उपमहानिर्देशक एवं प्रवक्ता कमलकुमार अधिकारीका अनुसार ती तुइन निर्माण तथा मर्मतमा करिब २० लाख रुपैयाँ खर्च भएको छ।

“नुवाकोटको इन्द्रेणीचौर–गुम्बाडाँडा जोड्ने त्रिशूली नदीको तुइनलाई मोटराइज्ड गरिएको छ। त्यस्तै रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ र ६ स्थित स्याफ्रुबेँसी–चिलिमे जलविद्युत् आयोजना क्षेत्रको तुइनलाई मोटराइज्ड गर्ने काम भएको छ,” उहाँले भन्नुभयो।

उहाँका अनुसार रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ स्थित हाकुबेँसी र आमाछोदिङ्मो गाउँपालिका–१ जोड्ने तुइन तथा नुवाकोटको विदुर नगरपालिका–५ देविघाट क्षेत्रका तुइन पनि सञ्चालनमा छन्।

विभागका अनुसार थप तीन स्थानमा तुइन जडान गर्ने तयारी भइरहेको छ। रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेँसी र नुवाकोटको किस्पाङ गाउँपालिका–५ जोड्ने स्थानमा निर्माण कार्य सुरु भएको छ।

स्याफ्रुबेँसी–लाङटाङ क्षेत्रमा भने खानी क्षेत्र भएकाले नेपाली सेनाले आवागमन निषेध गरेपछि तुइन जडान गर्ने स्थान परिवर्तन गर्नुपर्ने भएको विभागले जनाएको छ। रसुवाकै रुङ्गा क्षेत्रमा पनि तुइन जडानको तयारी भइरहेको छ।

१२ झोलुङ्गे पुलको मर्मत सम्पन्न, नौवटा अन्तिम चरणमा

भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीबाट क्षतिग्रस्त १२ वटा झोलुङ्गे पुलको मर्मत सम्पन्न भएको छ। थप नौवटा पुलको मर्मत कार्य अन्तिम चरणमा पुगेको स्थानीय पूर्वाधार विकास विभागले जनाएको छ।

विभागका उपमहानिर्देशक एवं प्रवक्ता कमलकुमार अधिकारीका अनुसार क्षतिग्रस्त पुल मर्मतका लागि पहिलो र दोस्रो चरणमा आवश्यक स्टिल पार्टस् खरिद सम्पन्न भएको छ। तेस्रो चरणका लागि आवश्यक स्टिल पार्टस् खरिद गर्न सम्झौता भइसकेको छ भने पहिलो चरणको सामानसमेत आपूर्ति भएको छ।

मर्मत सम्पन्न भएका पुलमा नुवाकोटका पिमलटार–जागाराम, फोक्सेटार र जिलिङ तथा धादिङका मालिङ्गा–मझुवाटार दोभान, महादेवस्थान, केउरेनी–गहते, बेल्खु–भुतिया, कालिकास्थान, महेशदोभान–मास्टार, चिरौँदी खोला र शीतलबजार–क्युरेनीटार झोलुङ्गे पुल छन्। गोरखा–चितवन जोड्ने फिस्लिङ झोलुङ्गे पुलको मर्मत पनि सम्पन्न भएको विभागले जनाएको छ।

भोटेकोशीको बाढीले बस्ती बगाएको ४५ दिन बितिसक्दा पनि स्याफ्रुबेँसीका बासिन्दाको जीवन सामान्य लयमा फर्किन सकेको छैन। भौतिक संरचना पुनर्निर्माणको काम अघि बढ्दै गर्दा आफन्त गुमाएका परिवारको पीडा, फेरि विपद् दोहोरिने डर र दैनिक जीवन चलाउने सङ्घर्ष भने अझै उस्तै छन्। बगेको बस्ती फेरि उठाउन सकिएला, तर बाढीले खोसेका प्रियजन र उनीहरूसँग जोडिएका सम्झना फर्काउन सकिने छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *