दसैँ आयो घटेन देश छाड्नेको भिड

काठमाडौं, २३ असोज । यो भिडभाडको दृष्य कुनै मेला, महोत्सव वा सांगितिक कार्यक्रमको होइन । झट्ट हेर्दा यो दृष्य मेला, महोत्सव वा सांगितिका कार्यक्रमको हो कि भन्ने भ्रम पनि पर्न सक्छ तर यो दृष्य हो त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल परिसरको । दसैं आउन केही समय मात्रै बाँकी छ । कुनैबला दसैंलाई घरबाहिर वा देश बाहिर अनि सात समुन्द्र पारिका आफन्त पनि घर फर्किएर पुर्नमिलन गर्ने पर्वका रुपमा हेरिन्थ्यो ।

तर, यी दृष्यहरुले त्यो संकेत गर्दैनन् । बरु दसैंकै मुखका आफ्न्त, परिवार र आफ्नो माटो छाडेर अध्ययन र रोजगारीका सपना बुन्दै राष्ट्रिय झण्डा ओढेर स्वदेशको माटो छाड्नेहरुको मुटु नै छियाछिया बनाउने दृष्यको सन्देश दिन्छ । हो, फागुन २१ मा सम्पन्न निर्वाचनका बेला एउटा भनाई चर्चित थियो । राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार बनेपछि लाइन युगको अन्त्य हुन्छ र अनलाइन युगको सुरुवात हुृन्छ । त्यति मात्रै होइन चुनावका बेला अर्को भनाई पनि चर्चित थियो ।

विदेश जानका लागि त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा देखिने भिडभाड रास्वपा नेतृत्वको सरकार आएपछि अन्त्य हुन्छ । खुट्टामा चप्पल नलगाई आफ्ना सन्तानलाई विदाई गर्दै गरेका पिताका हृदयविदारक तस्बिर, भिडियो अब विमानस्थलमा देखिने छैनन् । विमानस्थलमा आफन्तलाई विदाई गर्न गएकाहरुका रुँदै गरेका तस्बिर भिडियो पनि अब देखिने छैन ।

तर, निर्वाचन भएको ७ महिना व्यतीत हुनलाग्दा पनि अन्तराष्ट्रिय विमानस्थलमा देखिने यो भिडभाडले ती नाराहरु नारामा मात्रै सिमित थिए भन्ने प्रमाणित समेत गरिदिन्छ । अहिले पनि आफ्ना सन्तानलाई विदाई गर्न पुगेका आफन्त र विदाइका हात हल्लाउँदै भविष्यको खोजिमा राष्ट्रिय झण्डा ओढेर देशको माटो छाड्नेहरुको भीड कम भएको छैन भन्ने सन्देश यहि भिडले देखाउँछ । अध्यागमनको तथ्याङ्कले पनि अध्ययन र कामको खोजिमा विदेश जानेहरुको संख्यामा सुधारको संकेत देखाउँदैन ।

अध्यागननको तथ्याङ्कलाई हेर्ने हो भने पनि सन् २०२० मा विश्वभरी नै कोभिडको महामारी चलिरहेका बेला समेत ३ लाख ८८ हजार १ सय ३२ जनाले त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलबाट विश्वका विभिन्न देशमा प्रस्थान गरेको देखाउँछ । त्यसो छ सन् २०२१ मा ६ लाख २६ हजार ४ सय ८१ ले प्रस्तान गरेका थिए भने सन् २०२२ मा १३ लाख ९७ हजार २ सय ५०, सन् २०२३ मा १५ लाख ७२ हजार ४ सय र सन् २०२४ मा १६ लाख ८५ हजार ४ सय ९२ र सन् २०२५ मा १७ लाख ९ सय ६९ जनाले प्रस्थान गरेको देखिन्छ ।

 

सन् २०२६को तथ्याङ्क विभागले सार्वजनिक गरेको छैन । यद्यपि, यो भिडले सत्ता परिवर्तन भयो, तर रोजगारीका अवसरहरु स्वदेशमै बन्दैछन् भन्ने कुनै आशावादी संकेत देखाएको छैन भन्ने सन्देश दिन्छ । अघिल्लो भदौमा जेनजी आन्दोलन भयो । रोजगारीका अवसर नपाएको, भ्रष्टाचार मौलाएको जस्ता नारा त्यतिबेला गगनभेदी बने ।

त्यहि नाराले पुराना दलप्रति वितृष्णको विउ मात्रै रोपेन । कालजयी इतिहासका साक्षी बनेका संसद भवन, सिंहदरबार र सर्वोच्च खरानी भए । सरकारी संरचना र इतिहास पनि त्यसैबेला खरानी भए । इतिहास खरानी भएपछि बनेको नयाँ सरकार होस् या निर्वाचनपछि बनेको अहिलेको सरकार दुबैले स्वदेशमा रोजगारीको अवसर छ, दिन्छौँ भन्ने विश्वास सायद दिलाउन नसकेकै कारण पो यस्ता दृष्य हेर्न नेपालीहरु अभिसप्त भएका हुन् कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *