वृद्ध महिलाको तिलहरी लुट्ने युवक पक्राउ
काठमाडौँ, असोज २३ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका ८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको तिलहरी लुटेर फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका घर भई हाल गोकर्णेश्वर नगरपालिका ८ माकलबारी बस्दै आएका २९ वर्षीय सुनिल सुनार रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सुनारले आफ्नै घरअगाडि उभिरहेकी वृद्ध महिलाको घाँटीमा लगाएको सुनको तिलहरी लुटेर फरार भएका थिए । लुटिएको तिलहरीको तौल करिब चार आना र मूल्य ७५ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
घटनापछि खोजतलासमा खटिएको प्रहरी वृत्त बौद्धको टोलीले सुनारलाई लुटिएको तिलहरीसहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो ।
पक्राउ परेका सुनारविरुद्ध चोरीसम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
