बीपी राजमार्ग पुनर्निर्मित सडकबाटै सञ्चालन, दसैँमा यात्रा सहज बनाउन तयारी
काभ्रेपलाञ्चोक, २५ असोज । दुई वर्षअघि बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा पुनर्निर्मित सडकबाटै सवारी आवागमन भइरहेको छ। दसैँमा यात्रुको चाप बढ्ने भएकाले सडक थप सहज बनाउने र अवरुद्ध भए तत्काल खुलाउने तयारी गरिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।
विसं २०८१ असोजको बाढीपहिरोले करिब ३० किलोमिटर सडक क्षतिग्रस्त बनाएपछि रोशी खोलामा अस्थायी डाइभर्सन निर्माण गरी सवारीसाधन सञ्चालन गरिँदै आएको थियो। तर, यस वर्ष असोजको पहिलो साताको अविरल वर्षापछि आएको बाढीले डाइभर्सन बगाएपछि पुनर्निर्मित सडकबाटै आवागमन गराउन थालिएको हो।
डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार केही साँघुरा स्थानमा डाइभर्सन बनाएर दुईतर्फी सवारी आवागमन सञ्चालन गरिएको छ। चौकीडाँडा र पिन्थलीमा भिरालो सडकको मर्मत भइरहेको छ भने डालाबेँसी–पिप्ले खण्डको करिब २०० मिटरमा डाइभर्सनबाट सवारीसाधन चलाइएको छ।
पुनर्निर्मित सडकबाट आवागमन भइरहेको र हाल जामको समस्या नरहेको योगेशले बताउनुभयो। वर्षाका कारण सडक माथिबाट लेदो वा पहिरो आएर अवरुद्ध भए तत्काल खुलाउन आवश्यक उपकरण तथा सामग्री तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ।
“दसैँलाई लक्षित गरी वर्षालगायत कारणले सडक अवरुद्ध भए आधा घण्टामै खुलाउने गरी तयारी भइसकेको छ। यसका लागि आवश्यक उपकरणसमेत तयारी अवस्थामा राखिएको छ,” उहाँले भन्नुभयो।
असोज ८ गतेदेखि परेको अविरल वर्षाका कारण डाइभर्सन बगाउनुका साथै पहिरो र लेदोले सडक अवरुद्ध हुँदा बीपी राजमार्ग पाँच दिन पूर्ण रूपमा बन्द भएको थियो। त्यसपछि पुनर्निर्माण गरिएको पुरानै सडकको ट्र्याकबाट सवारी आवागमन सञ्चालन गरिएको हो।
पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई काठमाडौँसँग जोड्ने छोटो दूरीको मार्गका रूपमा रहेको बीपी राजमार्गमा यसअघि वर्षा हुनेबित्तिकै रोशी खोलाको बाढीले अस्थायी डाइभर्सन बगाउँदा आवागमन अवरुद्ध हुने गरेको थियो।
कार्यालयले चौकीडाँडा, चारसयबेँसी, घुमाउनेबेँसी, बोक्सीकुना, चिउरीबास, कालढुङ्गा तथा पिप्ले–बर्खेखोला क्षेत्रलाई उच्च जोखिमयुक्त स्थानका रूपमा पहिचान गरेको छ। क्षतिग्रस्त खण्डका अधिकांश स्थानमा ग्राभेल बिछ्याउने काम भएको छ भने केही ठाउँमा ठूला ढुङ्गा राखेर सडक तयार गरिएको छ।
वर्षायामअघि सडकलाई सात मिटर उचाइसम्म उठाएर ग्राभेल गरिएको छ। हिउँदमा खोलाबाट करिब १० मिटर उचाइसम्म सडक निर्माण गरी कालोपत्र गर्ने योजना रहेको कार्यालयले जनाएको छ। केही स्थानमा आरसिसी पर्खालको जग निर्माण सम्पन्न भई थप काम भइरहेको छ।
क्षतिग्रस्त सडक पुनर्निर्माणका लागि सरकारले आठ अर्ब ५० करोड रुपैयाँको स्रोत सहमति दिएको छ। त्यसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन खण्डका लागि सात अर्ब ५० करोड र सिन्धुलीतर्फको एक खण्डका लागि एक अर्ब रुपैयाँ छुट्याइएको छ।
क्षतिग्रस्त चार खण्डमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको ३.२ किलोमिटर सडक जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहयोगमा पुनर्निर्माण भइरहेको छ। उक्त खण्डमा माटो भर्ने र ठूला ढुङ्गा राख्ने काम गरिएको छ। यस क्षेत्रमा वर्षायाममा समेत खोलाबाटै सवारीसाधन चलाउनुपर्ने अवस्था नरहेको योगेशले बताउनुभयो।
पुनर्निर्माणसँगै राजमार्गलाई स्तरोन्नति गरी दुई लेनको बनाउने योजना छ। सडकसँगै पाँच वटा पुललाई पनि दुई लेनमा विस्तार गरिनेछ। त्यस्तै, तीन सडक खण्डमा कुल ६.३ किलोमिटर आरसिसी पर्खाल निर्माण गरिने जनाइएको छ।
जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि धुलिखेल–सिन्धुली–बर्दिबास जोड्ने १६० किलोमिटर लामो बीपी राजमार्ग निर्माण सुरु गरिएको थियो। खण्डखण्डमा निर्माण सम्पन्न भएको राजमार्ग जापान सरकारले विसं २०७२ असार १८ गते औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।
