कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीले लिए शपथ

कर्णाली प्रदेश योजना आयोग

कर्णाली, असोज २५  ।  कर्णाली प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. भीमबहादुर खत्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । असोज २३ गते नियुक्त हुनुभएका डा खत्रीलाई कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आज शपथ गराउनुभएको हो ।

विसं २०१४ फागुन ३ गते जुम्लाको हाँकुमा जन्मिनुभएका डा. खत्री नेपाल सरकारका सेवा निवृत्त वरिष्ठ वैज्ञानिक हुनुहुन्छ । उहाँले विसं २०४१ मा रौतहटबाट सहायक कृषि विकास अधिकृतका रूपमा सरकारी सेवामा प्रवेश गर्नुभएको थियो । त्यसपछि विसं २०४२ देखि २०४३ सम्म खुमलटारस्थित बालीरोग विज्ञान महाशाखामा काम गर्नुभएका उहाँले नेपाल सरकारद्वारा सञ्चालित स्वीस विकास सहयोग नेपाल परियोजनामा सात वर्ष विषयविज्ञका रूपमा सेवा गर्नुभयो ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा नीतिगत तहमा रहेर उहाँले नीतिनिर्माण, अनुसन्धान, योजना तर्जुमा तथा कार्यान्वयनमा योगदान पुर्‍याउनुभएको छ। नार्कमा कार्यरत रहँदा देशभरका ६१ अनुसन्धान केन्द्रको अनुसन्धान तथा प्रशासनिक योजना तर्जुमा, समन्वय र अनुगमनमा केन्द्रीय नेतृत्व गर्नुभएको उहाँसँग अनुभव छ। उहाँले त्रिभुवन विश्वविद्यालयमा बागवानी विषयको प्राध्यापन गर्नुका साथै विद्यावारिधि तहका शोधार्थीको प्राज्ञिक निर्देशकका रूपमा पनि काम गर्दै आउनुभएको छ ।

डा खत्रीले सन् १९९५ देखि २०१६ सम्म राष्ट्रिय आलु अनुसन्धान कार्यक्रममा वरिष्ठ वैज्ञानिकका रूपमा काम गर्नुभयो। करिब २१ वर्षको उक्त अवधिमा उहाँले आलुको जात सुधार, मूल बीउ उत्पादन, वास्तविक आलुको बीउ (टिटिपिएस) प्रविधिको प्रवर्द्धन तथा किसान उपयोगी प्रविधिको विकासमा योगदान पुर्‍याउनुभएको थियो। उहाँले अन्तरराष्ट्रिय आलु केन्द्रलगायत विभिन्न अन्तरराष्ट्रिय संस्थासँगको सहकार्यमा अनुसन्धान परियोजना सञ्चालन गर्नुभएको थियो ।

शैक्षिक रूपमा डा खत्रीले विसं २०३१ मा जुम्लाको चन्दननाथ माध्यमिक विद्यालयबाट एसएलसी र विसं २०३४ मा बाँकेको नेपालगञ्ज क्याम्पसबाट कृषि विज्ञानमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गर्नुभएको थियो। उहाँले त्रिभुवन विश्वविद्यालयअन्तर्गत रामपुर क्याम्पस, चितवनबाट कृषि विज्ञानमा स्नातक तथा सन् २००५ मा फिलिपिन्सबाट कृषि विज्ञानमा स्नातकोत्तर गर्नुभएको थियो ।

उहाँले सन् २००९ मा अस्ट्रेलियाको तास्मानिया विश्वविद्यालयबाट कृषि विज्ञानमा विद्यावारिधि हासिल गर्नुभएको हो । कृषि अनुसन्धान, नीति निर्माण, योजना तर्जुमा र प्रविधि विकासका क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएका डा खत्रीको नियुक्तिसँगै कर्णाली प्रदेशको योजना निर्माण तथा विकाससम्बन्धी काममा उहाँको अनुभव उपयोग हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *