दसैँका लागि ग्यास सिलिन्डर साट्ने केन्द्र ११ वटा पुगे, असोज ३० सम्म मात्रै सेवा

काठमाडौं, २६ असोज । दसैँका बेला उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले नेपाल एलपी ग्यास उद्योग संघले फरक कम्पनीका ग्यास सिलिन्डर साटफेर गर्ने केन्द्रको सङ्ख्या बढाएर ११ पुर्‍याएको छ।

आइतबार ६ वटा बिक्री केन्द्रबाट सुरु गरिएको सिलिन्डर साटफेर सेवा सोमबारदेखि थप पाँच स्थानमा विस्तार गरिएको हो। नेपाल आयल निगम र ग्यास बिक्रेता महासंघसँगको समन्वयमा संघले यस्तो व्यवस्था मिलाएको जनाएको छ।

संघका अनुसार सोमबारदेखि थपिएका केन्द्रमा बुढानीलकण्ठको चपलीस्थित भानु ग्यास, ललितपुरको हरिसिद्धिस्थित नेपाल र एचपी ग्यास, कलंकीस्थित गीता ग्यास, खसीबजारस्थित आरके ट्रेडर्स (सीताश्री ग्यास) र सतुंगलस्थित श्रीमाया ग्यास रहेका छन्।

कहाँ–कहाँ साट्न पाइन्छ सिलिन्डर?

यसअघि आइतबारदेखि नै विभिन्न स्थानमा सिलिन्डर साटफेर सेवा सञ्चालनमा छ। ललितपुरको हरिसिद्धिमा श्रीराम ग्यास, कलंकीमा साइबाबा र श्रीकृष्ण ग्यास तथा सुकेधारामा बाबा र श्री ग्यासका सिलिन्डर साट्न सकिने व्यवस्था गरिएको छ।

त्यस्तै, बालाजु औद्योगिक क्षेत्रको गेटअगाडि नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यासका सिलिन्डर साट्न सकिनेछ। पेप्सीकोलामा सगर ग्यास तथा सिफलचौरस्थित ग्यास एन्ड अक्सिजन ट्रेडर्समा एभरेस्ट र सुगम ग्यासका सिलिन्डर साटफेर गर्न सकिने संघले जनाएको छ।

असोज ३० सम्म मात्रै सेवा
संघले सिलिन्डर साटफेर गर्ने समयतालिका पनि परिवर्तन गरेको छ। अब असोज ३० गतेसम्म मात्रै यो सेवा उपलब्ध हुनेछ। उपभोक्ताले हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ४ः३० बजेसम्म तोकिएका केन्द्रमा पुगेर सिलिन्डर साट्न सक्नेछन्।

यसअघि संघले असोज ३१ गतेसम्म बिहान ९ः३० बजेदेखि सेवा दिने सूचना जारी गरेको थियो। तर, पछिल्लो निर्णयअनुसार सेवा अवधि र समय दुवै परिमार्जन गरिएको हो।

संघले तोकिएका ११ वटा केन्द्रबाहेक अन्य खुद्रा पसल वा स्थानबाट फरक कम्पनीका सिलिन्डर साट्न नमिल्ने स्पष्ट पारेको छ। त्यसैले सिलिन्डर साट्न जाने उपभोक्ताले तोकिएको केन्द्र र समयतालिका अनुसार सेवा लिनुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *