उदयपुरमा एक हजार ४० किलो गाँजा बरामद, बोलेरोसहित एक युवक पक्राउ

उदयपुर, २६ असोज । उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले एक हजार ४० किलो ४४० ग्राम गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा प्रयोग भएको बोलेरो गाडीसहित एक युवकलाई नियन्त्रणमा लिइएको छ भने घटनामा संलग्न अन्य व्यक्तिहरू फरार रहेका छन्।

प्रहरीका अनुसार चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको हो।

आइतबार राति २ बजे गाँजा ओसारपसार भइरहेको विशेष सूचना पाएपछि इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले पार्किङ गरी राखिएको बा१४च २२५५ नम्बरको बोलेरो गाडी जाँच गरेको थियो। जाँचका क्रममा गाडीमा २९ वटा बोरामा राखिएको गाँजा फेला परेको प्रहरीले जनाएको छ। बरामद गाँजाको तौल बोरासहितको रहेको बताइएको छ।

यसैगरी, कटारी नगरपालिका–६ स्थित सागुरी पुलनजिकैको जंगलबाट प्रहरीले थप १०० किलो गाँजा बरामद गरेको छ। उक्त घटनामा गाँजासहित ताप्ली गाउँपालिका–२ का करिब २२ वर्षीय विश्वराज राई पक्राउ परेका छन्।

आइतबार राति १०ः२० बजे इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले पाँचवटा बोरामा राखिएको गाँजासहित राईलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार तिनतलेबाट सिराहातर्फ गाँजा लैजाँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको हो। घटनामा संलग्न अन्य व्यक्तिहरू भने फरार रहेका छन्।

पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ। बोलेरो गाडीसहित गाँजा बरामद भएको अर्को घटनाबारे पनि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *