प्रस्तावित राजदूत चुडामणि खरेलको सुनुवाइ स्थगित, आरोपबारे छानबिन गर्न उपसमिति गठनको तयारी

काठमाडौं, २८ असाेज । मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ प्रक्रिया स्थगित भएको छ। बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा खरेलले कार्ययोजना प्रस्तुत गरे पनि उनीमाथि उठेका विभिन्न प्रश्न र आरोपबारे थप अध्ययन गर्नुपर्ने भन्दै प्रक्रिया केही समयका लागि रोकिएको हो।

खरेलले मलेसियालाई केन्द्र बनाएर थप चार देशको गैरआवासीय कूटनीतिक जिम्मेवारी निर्वाह गर्ने तथा विदेशमा रहेका नेपाली श्रमिकका समस्या तत्काल सम्बोधन गर्न संयन्त्र निर्माण गर्ने योजना प्रस्तुत गरेका थिए।

तर, सुनुवाइका क्रममा सांसदहरू मधुकुमार चौलागाईं र राजिव खत्रीले खरेलमाथि प्रश्न उठाएपछि उनको सुनुवाइ प्रक्रिया अघि बढ्न सकेन।

खरेलमाथि स्वार्थको द्वन्द्व, आर्थिक अनियमितता, म्यानपावर व्यवसायीसँगको साँठगाँठ तथा योग्यतासम्बन्धी प्रश्न उठेका छन्। समितिले आरोपबारे थप अध्ययन र प्रमाण संकलन गर्ने निर्णय गरेको छ। यसका लागि उपसमिति गठन गर्ने तयारीसमेत गरिएको छ।

संसदीय सुनुवाइका क्रममा खरेलले आफूमाथि लागेका सम्पूर्ण आरोप तथ्यहीन र भ्रामक रहेको दाबी गरेका थिए।

उनले जग्गा कारोबार, आर्थिक लेनदेन वा कुनै पनि प्रकारको अनुदान मिलाइदिने प्रलोभन नदेखाएको बताएका थिए। आफू संस्थामा व्यवस्थापकीय जिम्मेवारीमा मात्रै रहेको उल्लेख गर्दै संस्थागत बेरुजु वा चेकको कारोबारमा एकल निर्णय गर्ने अधिकार आफूमा नरहेको उनको भनाइ थियो।

खरेलमाथि म्यानपावर व्यवसायी विजय मिश्रको एडभान्जर ओभरसिजबाट राजदूत बनेर काम गर्ने भन्दै करिब दुई करोड रुपैयाँ लिएको आरोप लगाइएको छ। मिश्रले उपलब्ध गराएको बा.२० च ५३९ नम्बरको कालो टोयोटा आरएभी–४ गाडी प्रयोग गर्ने गरेको आरोपसमेत उनीमाथि छ।

त्यस्तै, मलेसियामा गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष दयाराम कुमालको कम्पनीको नेपाल प्रमुख एजेन्टका रूपमा काम गरेको र उक्त कम्पनीसँग मलेसियामा कामदार पठाउने विषयमा सम्झौता गरेको आरोप पनि लगाइएको छ। यी आरोपबारे संसदीय सुनुवाइ समितिले थप अध्ययन तथा छानबिन गर्ने तयारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *