कृषिको उत्पादन लागत घटाउन आधुनिक प्रविधिको प्रयोगमा जोड
काठमाडौँ, असोज २९ । स्याङ्जाको वालिङ नगरपालिका–१ यवादीस्थित कृषि विकास स्रोत केन्द्रले कृषि उत्पादनको लागत घटाउन आधुनिक यन्त्र तथा उपकरणको प्रयोगमा जोड दिएको छ । कृषि क्षेत्रमा श्रमिक अभाव र उत्पादन लागत बढ्दै गएपछि केन्द्रले पहिलोपटक धान काट्ने अत्याधुनिक मेसिनको प्रयोग सुरु गरेको हो ।
गण्डकी प्रदेशका ११ जिल्लालाई कार्यक्षेत्र बनाएर काम गर्दै आएको केन्द्रले कृषि उत्पादनलाई सहज, छिटोछरितो र कम खर्चिलो बनाउने उद्देश्यले आधुनिक प्रविधिको प्रयोग थालेको कार्यालय प्रमुख सुदीप रेग्मीले बताउनुभयो । कृषि उपज उत्पादनको लागत निरन्तर बढ्दै गएकाले त्यसलाई घटाउन प्रविधिको प्रयोग आवश्यक भएको उहाँको भनाइ छ ।
“हामीले उत्पादन गर्ने कृषि उपजको लागत मूल्य ह्वात्तै बढेर गएको छ,” उहाँले भन्नुभयो, “लागत मूल्य कम गराउन सकेको खण्डमा कृषक तथा उपभोक्तालाई प्रत्यक्ष लाभ पुग्छ ।”
केन्द्रले उन्नत जातका धान, गहुँ, कोदो तथा तरकारीजन्य बालीका बीउ उत्पादन गर्दै आएको छ । बीउ उत्पादनका लागि खेतबारीमा काम गर्ने श्रमिक पाउन कठिन हुन थालेपछि यान्त्रिकीकरणलाई प्राथमिकता दिइएको रेग्मीले बताउनुभयो । श्रमिक लगाएर खेती गर्दा उत्पादन लागत बढ्ने भएकाले धान काट्ने ‘रीपर’ मेसिन प्रयोगमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।
रीपर मेसिनको प्रयोगबाट १० देखि १५ मिनेटमै तीन रोपनी क्षेत्रफलको धान काट्न सकिने केन्द्रले जनाएको छ । यसले दिनभरि लाग्ने धान कटाइको काम केही घण्टामै सम्पन्न गर्न सहयोग पुग्ने भएकाले समय र श्रम दुवैको बचत हुने अपेक्षा गरिएको छ । त्यस्तै, धान काट्न श्रमिक नपाउने समस्या कम हुनुका साथै उत्पादन लागत झन्डै ५० प्रतिशतसम्म घटाउन सकिने रेग्मीले बताउनुभयो ।
मेसिनबाट धान काट्दा एकनासले पाँजा लगाउन र जमिनको सतह मिलाएर सफा तरिकाले काट्न सकिने भएकाले पराल उठाउन तथा बाँध्नसमेत सहज हुने गरेको छ । व्यावसायिक रूपमा खेती गर्दै आएका कृषक समूह, सहकारी तथा कृषि फार्मका लागि यस्तो प्रविधि उपयोगी हुने उहाँको भनाइ छ ।
केन्द्रले कार्यालय परिसरको २२ रोपनी र वालिङ नगरपालिका–१ बगुवाको ८३ रोपनी क्षेत्रफलमा व्यावसायिक रूपमा धानको बीउ उत्पादन गर्दै आएको छ । केन्द्रले रामधान, हर्दिनाथलगायत उन्नत जातका धानको बीउ उत्पादन गरी आवश्यक प्रक्रिया पूरा गरेपछि बिक्री वितरण गर्दै आएको छ ।
कृषि क्षेत्रमा श्रमिक अभाव र बढ्दो लागत चुनौतीका रूपमा देखिएका बेला आधुनिक यन्त्र तथा उपकरणको प्रयोगले उत्पादन प्रक्रिया सहज बनाउनुका साथै कृषकको खर्च घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । विशेषगरी व्यावसायिक बीउ उत्पादन तथा खेतीमा यान्त्रिकीकरणको विस्तारले कृषि क्षेत्रलाई थप उत्पादनमुखी र व्यावसायिक बनाउन योगदान पुर्याउन सक्ने देखिन्छ ।
