१८ दिनपछि सञ्चालनमा आयो घिरिङ–डेढगाउँ जोड्ने कालीगण्डकी पुल

दमौली, २९ असोज। कालीगण्डकी नदीमा आएको बाढीले पहुँच सडक बगाएपछि अवरुद्ध घिरिङ–डेढगाउँ जोड्ने पक्की पुल १८ दिनपछि पुनः सञ्चालनमा आएको छ। दुवैतर्फको पहुँच सडक निर्माण सम्पन्न भएपछि बुधबारदेखि पुलमा सवारीसाधन आवागमन सुरु भएको हो।

तनहुँको घिरिङ गाउँपालिका र नवलपुरको बौदीकाली गाउँपालिका–डेढगाउँ जोड्ने कालीगण्डकी नदीमाथिको पुलको दुवैतर्फका पहुँच सडक असोज ११ गते आएको बाढीले बगाएको थियो।

नवलपुरतर्फको अस्थायी पहुँच सडक गत साता नै निर्माण गरिएको थियो भने तनहुँतर्फको सडक बुधबार सम्पन्न भएको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले जानकारी दिनुभयो।

तनहुँतर्फको पहुँच सडक मर्मतका लागि सडक डिभिजन कार्यालय तनहुँले आर्थिक तथा प्राविधिक सहयोग गरेको थियो। सिद्धबाबा निर्माण सेवा, स्याङ्जाले युनिट रेट सम्झौतामार्फत मर्मतको काम गरेको हो।

पुल पुनः सञ्चालनमा आएसँगै घिरिङबाट कालीगण्डकी करिडोर हुँदै नवलपुर, पाल्पा, स्याङ्जा र चितवनलगायत स्थानमा आवतजावत सहज हुने अपेक्षा गरिएको छ। यसबाट स्थानीय बासिन्दा, यात्रु तथा मालसामान ढुवानीमा समेत राहत पुग्नेछ।

करिब १२ वर्षअघि निर्माण गरिएको फलामे पुल गैंडाकोट–पिपलडाँडा जोड्ने कालीगण्डकी करिडोर नजिकै अवस्थित छ। पोखरा, गैंडाकोट र रामपुर क्षेत्रबीच आवतजावतका लागि महत्त्वपूर्ण मानिने यो पुलको पहुँच मार्ग अवरुद्ध हुँदा दैनिक हजारौँ यात्रु तथा सयौँ सवारीसाधन प्रभावित भएका थिए।

पुल सञ्चालनमा आएसँगै दसैँका बेला आवतजावत गर्ने नागरिकलाई ठूलो राहत मिलेको गाउँपालिका अध्यक्ष थापाले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *