जाजरकोटमा जिप दुर्घटना हुँदा चालकसहित दुईको मृत्यु, तीन घाइते
सुर्खेत, २९ असोज। जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ गैरीगुवामा जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।
बिहीबार बिहान करिब २ बजे सुर्खेतबाट जुनीचाँदे गाउँपालिकातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १२४३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
दुर्घटनामा जिप चालक जुनीचाँदे गाउँपालिका–९, कल्ली स्यालाका २० वर्षीय सान्तबहादुर बस्नेत र जुनीचाँदे गाउँपालिका–३, स्यालाकी ३० वर्षीया बिपना भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले जानकारी दिनुभयो। बिपना दिलबहादुर भण्डारीकी श्रीमती हुन्।
दुर्घटनामा दिलबहादुर भण्डारी, उनका चार वर्षीय छोरा शिशिर भण्डारी र जुनीचाँदे गाउँपालिकाकी ५० वर्षीया सितला टमटा घाइते भएका छन्।
प्रहरीका अनुसार दिलबहादुरको टाउको, घाँटी र छातीमा चोट लागेको छ भने शिशिरको टाउको र हातमा चोट लागेको छ। त्यस्तै, सितलाको टाउको र ढाडमा चोट लागेको छ।
घाइते तीनै जनाको अवस्था मध्यम रहेको र थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनाको सूचना पाएपछि बिहान २ः१५ बजे प्रहरी सहायक निरीक्षक किरण रानाको नेतृत्वमा तीन जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
