काठमाडौँ फिल्म फेस्टिभल हेरिटेज रनमा कृतिका र सलमान विजयी

काठमाडौँ फिल्म फेस्टिभल हेरिटेज रन (सम्पदा दौड)

काठमाडौँ, कात्तिक ८ । काठमाडौँ महानगरपालिकाको आयोजनामा भएको काठमाडौँ फिल्म फेस्टिभल हेरिटेज रन (सम्पदा दौड) मा महिलातर्फ कृतिका ह्याउमिका र पुरुषतर्फ सलमान शेख विजयी भएका छन् ।

महानगरपालिकाले एनएसआर स्पोर्ट्स फाउन्डेसन (काठमाडौँ म्याराथन) सँगको सहकार्यमा शनिबार आयोजना गरेको १० हजार मिटर दूरीको दौडमा कृतिकाले ५१ मिनेट ५८.५ सेकेन्ड र सलमानले ३८ मिनेट ५६ सेकेन्डमा निर्धारित दूरी पार गर्दै उपाधि जितेका हुन् ।

महिलातर्फ जेनिशा राई ५४ मिनेट २३ सेकेन्डमा दूरी पार गर्दै दोस्रो र निशा महर्जन ५८ मिनेट २५.८ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो भए । पुरुषतर्फ समीर कन्दङ्वाले ४० मिनेट २५.८ सेकेन्ड र सुरज शाहीले ४४ मिनेट २२.८ सेकेन्डमा दौड पूरा गर्दै क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरे ।

विजेता दुवै समूहका प्रथम, द्वितीय र तृतीय हुने धावकलाई काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँसहित पदक तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

पुरस्कार वितरण कार्यक्रममा कार्यवाहक प्रमुख डंगोलले काठमाडौँको सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक सौन्दर्य र यहाँको जनजीवनलाई नजिकबाट अनुभूति गराउने उद्देश्यले सम्पदा दौड आयोजना गरिएको बताउनुभयो । सवारीसाधनमा यात्रा गर्दा भन्दा पैदल हिँड्दा सहरका सम्पदा, गल्ली र परिवेशलाई नजिकबाट बुझ्न सकिने उहाँको भनाइ थियो ।

“काठमाडौँमा बिहान देखिने परिवेश दिउँसो र साँझको भन्दा फरक हुन्छ । यो विशेषतालाई हिँडेर मात्र राम्ररी अनुभूति गर्न सकिन्छ,” उहाँले भन्नुभयो, “काठमाडौँको मौलिक पहिचानलाई प्रवर्धन गर्न पैदल हिँड्ने संस्कृतिको विकास गराउन चाहन्छौँ ।”

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले स्वस्थ सहर निर्माणका लागि खेलकुदलाई प्राथमिकतामा राखिएको बताउनुभयो । रचनात्मक उद्योग र काठमाडौँ फिल्म फेस्टिभलको सन्दर्भ पारेर आयोजना गरिएको दौडले युवालाई आकर्षित गरेको उहाँले उल्लेख गर्नुभयो ।

सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नं. ८ का अध्यक्ष आशामान संगतले काठमाडौँको मौलिक तथा जीवन्त पहिचानलाई चलचित्रमार्फत विश्वसामु पुर्‍याउने उद्देश्यले फेस्टिभलको पूर्वसन्ध्यामा दौड आयोजना गरिएको बताउनुभयो । विधायन समितिका संयोजक एवं वडा नं. २३ का अध्यक्ष मचाराजा महर्जनले दौडमार्फत वसन्तपुरसहित सहरका विभिन्न सांस्कृतिक सम्पदालाई पैदल मार्गबाट जोडिएको बताउनुभयो ।

दौडका लागि १५२ महिला र ५५२ पुरुष गरी ७०४ जनाले नाम दर्ता गराएका थिए । तीमध्ये निर्धारित समयभित्र दर्ता प्रक्रिया पूरा गरेका ५५० जना प्रतिस्पर्धामा सहभागी भएका थिए । आयोजकका अनुसार समयभित्र दर्ता गर्न नसकेका अन्य धावकले पनि अप्रतिस्पर्धीका रूपमा उत्साहपूर्वक सहभागिता जनाएका थिए । महानगरपालिकाका अधिकारीसमेत अप्रतिस्पर्धी धावकका रूपमा दौडमा सहभागी भएका थिए ।

दौडमा सबैभन्दा बढी उमेरका ७५ वर्षीय मङ्गलदास तण्डुकार सहभागी हुनुभएको थियो । प्रतिस्पर्धा पूरा गरेका धावकलाई महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, सम्पदा तथा पर्यटन समितिका संयोजक संगतलगायत जनप्रतिनिधिले फिनिसिङ मेडल प्रदान गर्नुभएको थियो ।

धावकलाई प्रोत्साहन गर्न एथलेटिक्सतर्फकी अस्ट्रेलियाली पारालिम्पिक खेलाडी क्याट्रिना वेब पनि सहभागी हुनुभएको थियो । नेपालमा १८ पटक आइसकेको उल्लेख गर्दै उहाँले यस प्रकारको सम्पदा दौडमा पहिलोपटक सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्नुभयो । वेबले लगातार तीन पारालिम्पिक खेलकुदमा स्वर्ण, रजत र कांस्य पदक जित्नुभएको छ । उहाँ फिजियोथेरापिस्ट तथा निरोगिता र लचिलोपनसम्बन्धी प्रशिक्षकसमेत हुनुहुन्छ ।

नेपाली धावक सन्तोषी श्रेष्ठ र हरिबहादुर रोकायालगायत खेलाडीले पनि सहभागीलाई हौसला प्रदान गरेका थिए । सन्तोषीले १३औँ दक्षिण एसियाली खेलकुदमा १० हजार मिटर दौडतर्फ स्वर्ण पदक जित्नुभएको थियो भने सन् २०२४ को पेरिस ओलम्पिकमा म्याराथनमा सहभागिता जनाउनुभएको थियो । ओलम्पियन रोकायाले सन् १९८८ को सोल र सन् १९९२ को बार्सिलोना ओलम्पिकमा सहभागिता जनाउनुभएको थियो । उहाँ एभरेस्ट म्याराथनमा तीनपटक विजेता बन्नुभएको छ ।

महानगरपालिकाका १३ वटा वडा समेटिएको दौड बिहान ६ बजे वसन्तपुर डबलीबाट सुरु भएको थियो । कार्यवाहक प्रमुख डंगोलले सिटी बजाएर उद्घाटन गर्नुभएको दौड जुद्ध सालिक, इन्द्रचोक, असन, जमल, दरबारमार्ग, नारायणहिटी संग्रहालय क्षेत्र, नागपोखरी, नक्साल भगवती, टंगाल, हाँडीगाउँ, मालीगाउँ, कालोपुल, सिफल, जयबागेश्वरी, गौशाला, रातोपुल, मैतीदेवी, डिल्लीबजार, पुतलीसडक, रामशाहपथ, प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट, धरहरा, खिचापोखरी र न्युरोड हुँदै पुनः वसन्तपुर डबली पुगेर सम्पन्न भएको थियो ।

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि १५ गतेसम्म काठमाडौँ फिल्म फेस्टिभल आयोजना गर्दैछ । फेस्टिभलमा युथ च्यालेन्ज, नेपाल पानोरामा र इन्टरनेसनल पानोरामाअन्तर्गत ४० वटा चलचित्र, लघुचलचित्र तथा वृत्तचित्र प्रदर्शन गरिनेछ । साथै रेड कार्पेट, मास्टर क्लास, प्यानल छलफल र पुरस्कार वितरणलगायत कार्यक्रम सञ्चालन हुनेछन् ।

फिल्म फेस्टिभलको पूर्वसन्ध्यामा आयोजना गरिएको सम्पदा दौडले काठमाडौँका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको प्रवर्धनसँगै स्वस्थ जीवनशैली र पैदल हिँड्ने संस्कृतिलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *