दसैँ बिदासँगै सौराहामा पर्यटकको चहलपहल बढ्यो, व्यवसायी उत्साहित
चितवन, १० कात्तिक । बाढीपहिरो र सडक अवरुद्ध हुँदा प्रभावित बनेको चितवनको सौराहामा पछिल्लो समय पर्यटकको चहलपहल बढेको छ। दसैँ बिदा र अनुकूल मौसमका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेपछि पर्यटन व्यवसायी उत्साहित बनेका छन्।
सौराहाका व्यवसायी गोकर्ण गिरीका अनुसार पर्यटकको चाप बढेसँगै होटल, रेस्टुरेन्ट तथा अन्य पर्यटन व्यवसायमा व्यस्तता थपिएको छ। वाटिका रिसोर्टका व्यवस्थापक लव सापकोटाले पछिल्ला दुई–तीन दिनदेखि रिसोर्टका सबै कोठा भरिएको बताए।
पर्यटन व्यवसायी ऋषि तिवारीले यसपटक गत वर्षको तुलनामा दसैँको टीकापछिको समयमा पर्यटकको आगमन राम्रो रहेको बताए। सौराहामा जीप सफारी, हात्ती सफारी, राप्ती नदीमा डुङ्गा सयर तथा थारू सांस्कृतिक नाच पर्यटकका प्रमुख आकर्षण हुन्। चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारी र नदीमा जलचर तथा चराचुरुङ्गी अवलोकन गर्न पर्यटक पुग्ने गरेका छन्।
क्षेत्रीय होटल सङ्घ नेपाल, चितवनका पूर्वअध्यक्ष सुमन घिमिरेले दसैँ बिदाका समयमा सौराहालगायत पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक बढेको बताए। उनका अनुसार बाढीपहिरो र सडकको अवस्थाका कारण पर्यटनको मुख्य सिजन सुरु हुन करिब एक महिना ढिलाइ भएको थियो।
चितवन राष्ट्रिय निकुञ्जको प्रमुख प्रवेशद्वारमध्ये एक सौराहा निकुञ्ज तथा आसपासका मध्यवर्ती सामुदायिक वन घुम्न आउने पर्यटकको प्रमुख बसाइस्थल हो। पछिल्लो आगमनले व्यवसायीलाई राहत र उत्साह दिएको छ।
