एनपीएल : चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

काठमाडौं, १० कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणअन्तर्गत दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई १५८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको चितवनले निर्धारित ओभरमा तीन विकेट गुमाएर १५७ रन बनाएको हो ।

चितवनका लागि डेबिड मलानले सर्वाधिक ७० रन बनाए । उनले ५० बलमा पाँच चौका र पाँच छक्का प्रहार गरे । कप्तान रवि बोपाराले २६ बलमा ३२ तथा ड्यान माउस्लीले २२ बलमा २९ रन जोडे ।

त्यस्तै, देव खनालले १२ रन बनाउँदा अर्जुन साउद तीन रनमा आउट भए । विराटनगरका आन्द्रे रसेल, एन्जेलो म्याथ्यूज र चरित असालंकाले एक–एक विकेट लिए । टस जितेर बलिङ रोजेको विराटनगरले अब १५८ रनको लक्ष्य पछ्याउनेछ ।

यसअघि प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गरेको थियो ।

आजै अपराह्न ४ः३० बजे जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ । जनकपुरको नेतृत्व हर्मित सिंह र कर्णालीको कप्तानी सोमपाल कामीले गर्दै छन् ।

यस संस्करणमा पहिलोपटक डिसिजन रिभ्यु सिस्टम (डीआरएस) लागू गरिएको छ । प्रतियोगिताको विजेताले एक करोड ५० लाख र उपविजेताले ८० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *