हाँडीगाउँ जात्रा भव्य रूपमा सम्पन्न, कार्यवाहक प्रमुख डङ्गोलको प्रत्यक्ष सहभागिता
काठमाडौँ, ११ कात्तिक । ‘कहिँ नभएको जात्रा हाँडीगाउँमा’ भन्ने लोकप्रिय उखानसँग जोडिएको काठमाडौँको ऐतिहासिक हाँडीगाउँको परम्परागत जात्रा भव्यताका साथ सम्पन्न भएको छ। जात्रामा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलको प्रत्यक्ष सहभागिता रह्यो।

मौलिक परम्परा, संस्कृति र ऐतिहासिक महत्त्व बोकेको यो जात्रामा स्थानीयवासीको बाक्लो र उत्साहजनक उपस्थिति देखियो। अनौठो शैलीका रूपमा परिचित यस जात्राको मुख्य आकर्षण खटलाई परम्परागत चोकहरूमा घुमाएर प्रदर्शन गर्ने चलन हो।
जात्राको प्रवर्द्धन र प्रोत्साहनका लागि कार्यवाहक प्रमुख डङ्गोल स्वयं जात्रामा सहभागी भएकी हुन्। महानगरभित्रका मौलिक जात्रा, पर्व तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा निरन्तर क्रियाशील डङ्गोलले काठमाडौँका प्रायः सबै सांस्कृतिक जात्रामा प्रत्यक्ष उपस्थित भई सहभागिता जनाउँदै आएकी छन्। उनको यस्तो सक्रियताले स्थानीय समुदायको मनोबल बढाउनुका साथै परम्परागत संस्कृति जोगाउन महानगरको प्रतिबद्धता झल्काएको स्थानीयले बताएका छन्।
कार्यवाहक प्रमुख डङ्गोलले महानगरले आगामी दिनमा पनि मौलिक संस्कृति र सम्पदाको संरक्षणमा विशेष जोड दिने प्रतिबद्धता व्यक्त गरेको समेत बताइएको छ।
