दाङमा पनि रगत अभाव, रक्तदान गर्न सर्वसाधारणमा आग्रह

दाङ, १२ कात्तिक । चाडपर्वका समयमा रक्तदान गर्नेको सङ्ख्या घटेसँगै दाङमा रगत अभाव देखिएको छ । जिल्लाका तुलसीपुर, घोराही र लमहीस्थित रक्तसञ्चार केन्द्रमा सहज रूपमा रगत पाउन मुस्किल भएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका प्रमुख विश्राम अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीका अनुसार चाडपर्वका बेला हरेक वर्षजसो रगत अभाव हुने गरेको छ । यस वर्ष पनि रक्तसञ्चार केन्द्रमा रगतको मौज्दात सकिँदा बिरामीलाई आवश्यक रगत उपलब्ध गराउन समस्या भइरहेको छ ।

“चाडपर्वका समयमा सधैँ नै अभाव हुन्छ, यो वर्ष पनि रगत अभाव भयो । रक्तसञ्चार केन्द्रमा रगत छैन,” उहाँले भन्नुभयो, “दाता पनि यस्तो बेला भेटाउन गाह्रो हुन्छ ।”

विभिन्न सङ्घसंस्थालाई रक्तदानका लागि आह्वान गरिए पनि पर्याप्त रगत सङ्कलन हुन नसकेको उहाँले बताउनुभयो । यस्तो अवस्थामा सामाजिक उत्तरदायित्व सम्झेर सङ्घसंस्था तथा रक्तदाताले रक्तदान गर्नुपर्ने उहाँको भनाइ छ ।

“यस्तो समयमा माग झन् धेरै हुन्छ, तर अभाव हुँदा बिरामीको ज्यान जान सक्छ । यो कुरामा सबैले ध्यान दिनुपर्छ,” अधिकारीले भन्नुभयो ।

सिकलसेल र थैलेसिमियाका बिरामीलाई बढी रगत आवश्यक

दाङमा थारू समुदायमा देखिने सिकलसेल एनेमिया र थैलेसिमियाजस्ता रोगका बिरामीलाई नियमित रूपमा रगत चढाउनुपर्ने भएकाले रगतको खपत उच्च छ । जिल्लाभर वार्षिक पाँच हजारदेखि छ हजार युनिटसम्म रगतको माग तथा खपत हुने गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *