चक्रवात ‘अर्नब’: आज र भोलि भारी वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, १ कात्तिक । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले आज र भोलि देशका अधिकांश स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी तथा एकदुई स्थानमा अति भारी वर्षा र हिमपात हुनसक्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा पनि भारी वर्षाको सम्भावना छ ।

आज दिउँसो देशका अधिकांश स्थानमा बादल लाग्नेछ भने विभिन्न प्रदेशमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने पूर्वानुमान छ । तराईका केही स्थानमा हुरी चल्न सक्ने महाशाखाले जनाएको छ ।

सम्भावित वर्षालाई ध्यानमा राख्दै महाशाखाले आज र भोलि धानबाली भित्र्याउनेलगायत कृषि कार्य नगर्न आग्रह गरेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान र त्यहाँ पुगिसकेकालाई सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ ।

वर्षासँगै चिसो बढ्ने, पहिरो खस्ने तथा सडक र हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन र आवश्यक पूर्वतयारी गर्न सर्वसाधारण तथा सम्बन्धित निकायलाई महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *