मधेसमा नयाँ सरकार गठनको तयारी, नेतृत्वमा तीन दलको दाबी
जनकपुरधाम, १३ कात्तिक । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीबीच छलफल अघि बढेको छ।
नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई एमालेले गत असोज २५ गते दिएको समर्थन फिर्ता लिएपछि तीन दल नयाँ सरकार गठनको तयारीमा जुटेका हुन्।
जनमत पार्टीका नेता तथा प्रदेशसभा सदस्य महेशप्रसाद यादवका अनुसार तीन दलबीच नयाँ सरकार गठनका विषयमा छलफल भइरहेको छ। तर, सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा ठोस सहमति भइसकेको छैन।
एमाले संसदीय दलका नेता सरोजकुमार यादवले पनि जसपा र जनमत पार्टीका नेताहरूसँग संवाद भइरहेको जानकारी दिँदै चाडपर्व सकिएपछि छलफललाई निष्कर्षमा पुर्याइने बताउनुभएको छ।
नयाँ राजनीतिक समीकरणमा सरकारको नेतृत्वका लागि तीनवटै दलले दाबी गरिरहेका छन्। प्रदेशसभामा सबैभन्दा ठूलो दल रहेको जसपाले सरकारको नेतृत्व आफूले गर्न पाउनुपर्ने बताउँदै आएको छ। जसपा संसदीय दलका नेता सरोजकुमार यादवका अनुसार तीनवटै दलका अध्यक्षबीच प्रदेश सरकारको नेतृत्वबारे केन्द्रबाटै सहमति जुटाउने समझदारी भएको छ।
१०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ सदस्यको समर्थन आवश्यक पर्छ। हाल कांग्रेसका २२, एमालेका २३, जसपाका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सदस्य छन्। त्यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सदस्य छन्।
एमाले, जसपा र जनमत पार्टीका सदस्य जोड्दा ६२ पुग्ने भएकाले यी तीन दलबीच सहमति भएमा नयाँ सरकार गठनका लागि आवश्यक बहुमत पुग्ने देखिन्छ।
