नाफा बुकिङको दबाबले नेप्सेमा सामान्य करेक्सन, कारोबार ८ अर्ब ८९ करोडमाथि
काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ। दशैँ बिदाअघिदेखि निरन्तर उकालो लागिरहेको बजारमा अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्न थालेपछि नेप्सेमा सामान्य करेक्सन देखिएको हो।
शुक्रबार नेप्से परिसूचक ५.४५ अंकले घटेर २ हजार ६९०.१५ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.५४ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१७ अंकले ओरालो लागेको छ।
नेप्से परिसूचक घटे पनि बजारमा कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन बिहीबार ८ अर्ब ५७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा शुक्रबार ३४८ वटा कम्पनीका २ करोड २८ लाख ६२ हजार कित्ता शेयर किनबेच भएका छन्।
यस दिन कुल ७४ हजार ५३ पटकको कारोबारबाट ८ अर्ब ८९ करोड १५ लाख ७४ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
शुक्रबार बेनी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य ९२ रुपैयाँ ५० पैसाले बढेर प्रतिकित्ता ७०९ रुपैयाँ ७० पैसा पुगेको छ। यस्तै, स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १२ प्रतिशतभन्दा बढीले बढ्दा लुम्बिनी विकास बैंकको शेयरमूल्यमा ७ प्रतिशतको वृद्धि देखिएको छ।
यस दिन मेन्छियाम हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ४.०८ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा लुम्बिनी विकास बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको ३८ करोड ४८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, शिवम् सिमेन्ट्सको ३० करोड रुपैयाँभन्दा बढी र घलेम्दी हाइड्रोपावरको करिब २८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
यस दिन कारोबारमा रहेका १३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ। विकास बैंक उपसमूह सर्वाधिक १.६१ प्रतिशतले बढेको छ। त्यस्तै, म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहमा सामान्य वृद्धि देखिएको छ।
बजार परिसूचकमा सामान्य गिरावट आए पनि कारोबार रकम बढ्नुले शेयर बजारमा लगानीकर्ताको सक्रियता कायम रहेको संकेत गरेको छ।
