सात देशका ट्राभल कन्टेन्ट क्रिएटर नेपालमा, टिकटकमार्फत विश्वभर पर्यटन प्रवर्द्धन गरिने
काठमाडौं, १५ कात्तिक । नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र पर्यटकीय गन्तव्यलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले सात देशका ट्राभल कन्टेन्ट क्रिएटर नेपाल आएका छन्।
नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियतामा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (यूएई), बङ्गलादेश र श्रीलङ्काका पर्यटनसम्बन्धी सामग्री निर्माता नेपाल आमन्त्रण गरिएको बोर्डले जनाएको छ।
नेपाल भ्रमणमा रहेका उनीहरूले यहाँका प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक पर्यटन, स्थानीय जीवनशैली र पर्यटनका विविध पक्ष समेटेर भिडियो तथा डिजिटल सामग्री निर्माण गर्नेछन्। ती सामग्री टिकटकसहित विभिन्न सामाजिक सञ्जालमार्फत विश्वभरका दर्शकमाझ पुर्याइनेछ।
बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार यूएई र ट्युनिसियाका तीन जना सामग्री निर्माता पोखरामा छन् भने अन्य देशका क्रिएटर काठमाडौंमा रहेर सामग्री उत्पादन गरिरहेका छन्।
उनीहरूले पोखरा, चितवन र बर्दियाका प्रमुख पर्यटकीय गन्तव्यका साथै नेपालका सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय महत्त्व बोकेका स्थल तथा पर्यटन उत्पादनबारे सामग्री तयार गर्ने थपलियाले जानकारी दिनुभयो।
यस अभियानमार्फत नेपालको हिमाली सौन्दर्य, सांस्कृतिक विविधता, साहसिक पर्यटन र मौलिक जीवनशैलीलाई छोटा तथा आकर्षक भिडियोमार्फत अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउने अपेक्षा गरिएको छ।
