एउटा विश्व सम्पदा क्षेत्रबाट सुरु भएको ‘फिल्म फेस्टिभल’ अर्को विश्व सम्पदा क्षेत्र र एम्पी थियटरमा पुगेर समापन
काठमाडौँ फिल्म फेस्टिभल
काठमाडौँ, कात्तिक १६ । काठमाडौँ महानगरपालिकाले आयोजना गरेको ‘काठमाडौँ फिल्म फेस्टिभल’ एउटा विश्व सम्पदा क्षेत्रबाट सुरु भएर अर्को विश्व सम्पदा क्षेत्र र तारागाउँ नेक्स्टको एम्पीथियटरमा विभिन्न कार्यक्रम गर्दै सम्पन्न भएको छ ।
कार्तिक १३ गते विश्व सम्पदा क्षेत्र वसन्तपुरबाट सम्पदा यात्रा गर्दै सुरु भएको फेस्टिभल कार्तिक १५ गते बौद्ध स्तूप र तारागाउँ नेक्स्टको एम्पीथियटरमा समापन गरिएको हो । तीन दिनसम्म सञ्चालन भएको फेस्टिभलमा नेपाली पुराना चलचित्र ‘के घर के डेरा’ र ‘कुमारी’ सहित सर्ट भिडियो, नेपाली पानोरामा र अन्तर्राष्ट्रिय पानोरामाअन्तर्गतका ४० चलचित्र प्रदर्शन गरिएको थियो ।
फेस्टिभलको समापन कार्यक्रम बौद्ध स्तूपको परिक्रमा र प्रार्थनाबाट सुरु भएको थियो । त्यस अवसरमा बौद्ध पुगेका कलाकार तथा विशिष्ट व्यक्तिहरूलाई काठमाडौँ महानगरपालिका–६ ले मौलिक गायन तथा वादन प्रस्तुतिसहित खादा लगाएर स्वागत गरेको थियो । त्यसपछि सहभागीले बौद्धबाट तारागाउँसम्म पैदल यात्रा गरेका थिए । चलचित्रकर्मी तथा सर्जकलाई काठमाडौँको मौलिक जनजीवन, संस्कृति र सामाजिक परिवेशसँग परिचित गराउने उद्देश्यले पैदल यात्रा आयोजना गरिएको महानगरपालिकाले जनाएको छ ।
तारागाउँ नेक्स्टको एम्पीथियटरमा आयोजित समापन समारोहमा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौँले युनेस्कोको रचनात्मक सहर सञ्जालमा आबद्ध हुँदा चार वर्षभित्र फिल्म फेस्टिभल आयोजना गर्ने प्रतिबद्धता पूरा गरेको बताउनुभयो । उहाँले फेस्टिभललाई नेपाली चलचित्र उद्योगको विकास र प्रवर्द्धनमा समर्पित कार्यक्रमका रूपमा अघि बढाइएको उल्लेख गर्नुभयो ।
“यो सुरुआत हो । पहिलो संस्करणबाट प्राप्त सिकाइ र सुधारका लागि आएका सुझावलाई आत्मसात् गर्दै आगामी संस्करणलाई थप परिष्कृत र व्यवस्थित बनाउँदै लैजानेछौँ,” उहाँले भन्नुभयो ।
कार्यक्रममा वरिष्ठ कलाकार नीर शाहले फेस्टिभलको सुरुआतलाई नेपाली चलचित्र क्षेत्रका लागि महत्त्वपूर्ण उपलब्धि भन्दै यसको अनुभव अभिलेखीकरण, पुस्तान्तरण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो । सरकारले धेरैअघि सुरु गर्नुपर्ने काम महानगरपालिकाले भए पनि ढिलै गरी सुरु गरेको उल्लेख गर्दै उहाँले यसलाई सकारात्मक पहलका रूपमा लिनुपर्ने बताउनुभयो ।
नेपाली चलचित्रका महानायक राजेश हमालले समाजका कथा, अवस्था र परिस्थितिलाई आमदर्शकमाझ पुर्याउने सशक्त माध्यम चलचित्र भएको बताउनुभयो । चलचित्र क्षेत्रको विकासका लागि महानगरपालिकाले थालेको पहलले कला, साहित्य र सिर्जनाको संरक्षणमा योगदान पुर्याउने उहाँको भनाइ थियो ।
“अन्तर्राष्ट्रियस्तरमा विकास भएका प्रविधि र प्राविधिक ज्ञान प्राप्त गर्न तथा नेपालका अद्वितीय सम्पदाको प्रचारप्रसार गर्न महानगरपालिका सफल भए त्यसको प्रत्यक्ष लाभ नेपाली चलचित्र उद्योगले पाउनेछ,” उहाँले भन्नुभयो । महानगरपालिकाको यस अभियानलाई कला क्षेत्रबाट निरन्तर सहयोग रहने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो ।
सांघाई फिल्म एकेडेमी, फिल्म आर्टस् रिसर्च सेन्टरका विशिष्ट प्राध्यापक मार्को मुलरले दक्षिण एसियाली चलचित्र उद्योगलाई आकार दिन नेपालमा पर्याप्त सम्भावना रहेको बताउनुभयो । नेपाली चलचित्र क्षेत्रले आफ्नै मौलिकता र सम्भावनाको पहिचान गरी त्यसलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउनुपर्ने उहाँको सुझाव थियो ।
“काठमाडौँले सुरु गरेको यो कामबाट नेपाली चलचित्र उद्योगलाई मात्र होइन, अन्तर्राष्ट्रिय चलचित्र उद्योगलाई समेत लाभ पुग्ने मैले महसुस गरेको छु,” उहाँले भन्नुभयो ।
फेस्टिभलकी क्रियटिभ डाइरेक्टर एवं क्युरेटर आयूषा श्रेष्ठले चलचित्र तथा कला क्षेत्रका सर्जक र संस्थाबाट प्राप्त सहयोगले कार्यक्रम सफल भएको बताउनुभयो । उहाँले यसलाई काठमाडौँ महानगरपालिकाको इतिहासमा महत्त्वपूर्ण सांस्कृतिक पहलका रूपमा उल्लेख गर्नुभयो ।
त्यसैगरी नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष फुर्वा गल्मो शेर्पाले नेपालको साहसिक पर्यटनसँग सम्बन्धित कथा र अनुभवलाई चलचित्र क्षेत्रसँग जोड्न महानगरपालिकाले सहयोग गर्ने अपेक्षा व्यक्त गर्नुभयो । चलचित्रका माध्यमबाट नेपालको प्राकृतिक सौन्दर्य, पर्वतीय जीवनशैली र साहसिक पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सकिने उहाँको भनाइ थियो ।
समापन समारोहमा काठमाडौँ कला परिषद्का सदस्य, फेस्टिभलका सल्लाहकार, आयोजनामा योगदान गर्ने विभिन्न विधाका निर्देशक तथा विभिन्न कार्यक्रमसँग आबद्ध साझेदार संस्थाका प्रतिनिधिलाई सम्मानस्वरूप मायाको चिनो प्रदान गरिएको थियो ।
काठमाडौँ महानगरपालिकाले रचनात्मक सहरका रूपमा आफ्नो पहिचानलाई थप सुदृढ गर्दै नेपाली चलचित्र उद्योगको विकास, स्थानीय सिर्जनशीलताको प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रसँग सहकार्य विस्तार गर्ने उद्देश्यले फेस्टिभल आयोजना गरेको हो । महानगरपालिकाले पहिलो संस्करणबाट प्राप्त अनुभव र सुझावका आधारमा आगामी संस्करणलाई थप प्रभावकारी बनाउने जनाएको छ ।
