काठमाडौँ गोर्खाजको पहिलो जित, कर्णाली याक्स चार विकेटले पराजित
काठमाडौँ, १६ कात्तिक । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा काठमाडौँ गोर्खाजले कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा कर्णालीले दिएको १८१ रनको लक्ष्य काठमाडौँले १९.४ ओभरमा छ विकेट गुमाएर पूरा गर्यो । पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको काठमाडौँले दोस्रो खेलमा जितको खाता खोलेको हो ।
काठमाडौँका लागि राशिद खानले ३३ बलमा तीन चौका र दुई छक्कासहित सर्वाधिक ५० रन बनाए । कप्तान करण केसीले २० बलमा चार चौका र तीन छक्कासहित ४४ रन जोडे । जाहन्दाद खानले अविजित २२ तथा मोहम्मद आदिल आलमले २० रन बनाए ।
कर्णालीका सोमपाल कामी र हुसेन तलातले दुई–दुई विकेट लिए भने मार्क वाट र नन्दन यादवले एक–एक विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १८० रन बनाएको थियो । उसका लागि अरिफूल इस्लामले २२ बलमा पाँच चौका र तीन छक्कासहित ४४ रन बनाए । हुसेन तलातले ४०, पवन सर्राफले अविजित ३०, गुल्शन झाले २० र मार्क वाटले १७ रन जोडे ।
काठमाडौँका करण केसीले दुई विकेट लिए भने शाहब आलम, जाहन्दाद खान, देव शाह र सन्तोष यादवले एक–एक विकेट लिए ।
यस हारसँगै कर्णालीको लगातार दुई जितपछिको अपराजित यात्रा रोकिएको छ । उसले यसअघि जनकपुर बोल्ट्सलाई १९ रन र विराटनगर किङ्ग्सलाई चार विकेटले पराजित गरेको थियो ।
आजै हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ ।
