सरकार बाह्य शक्तिबाट परिचालित बनेको आशंका उब्जियो’: शंकर पोखरेल
बुटवल, १६ कात्तिक । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार बाह्य शक्तिको खेलौना बनेको आशंका उब्जिएको बताएका छन्। सरकारको कार्यशैलीले नेपालको संवेदनशील भूराजनीतिक अवस्थालाई जोखिममा पारेको उनको आरोप छ।
सोमबार रुपन्देहीको बुटवलमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सरकारका गतिविधिले मुलुकभित्र मात्र नभई छिमेकी देशहरूमा समेत यस्तो आशंका पैदा गरेको दाबी गरे।
“भूराजनीतिक द्वन्द्वबिच नेपाल सरकार र त्यसको नेतृत्व जुन ढंगले परिचालित भइरहेको छ, त्यसले मुलुकको संवेदनशील भूराजनीतिक अवस्थालाई जोखिममा पारेको आशंका धेरैमा देखिएको छ,” उनले भने।
उनले पछिल्लो समय लोकतन्त्रको भविष्य नै संकटमा पर्दै गएको बताए। संगठित हुन पाउने र विचार अभिव्यक्त गर्ने स्वतन्त्रता लोकतन्त्रको आधार भएको उल्लेख गर्दै उनले विश्वविद्यालय तथा क्याम्पसमा विद्यार्थी संगठनका गतिविधिमाथि प्रतिबन्ध लगाउने प्रयास भइरहेको आरोप लगाए।
त्यसैगरी, ट्रेड युनियनका गतिविधि नियन्त्रण गर्न खोजिएको भन्दै उनले सरकारको आलोचना गरे। गृह मन्त्रालयको आदेशका नाममा प्रदर्शन तथा विरोधका कार्यक्रम रोक्न दबाब दिइने र सञ्चारमाध्यमबाटै पत्रकार पक्राउ गरिनेजस्ता कार्यले लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठाएको उनको भनाइ थियो।
पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताप्रति सरकारको व्यवहार उचित नरहेको पोखरेलले बताए। प्रधानमन्त्रीका सल्लाहकारले सामाजिक सञ्जालमार्फत पत्रकारलाई लक्षित गरी टिप्पणी गर्ने गरेको प्रसङ्ग उल्लेख गर्दै उनले पत्रकारितालाई नियन्त्रण गर्ने प्रवृत्ति देखिएको आरोप लगाए।
राज्यका जिम्मेवार पदमा रहेकाले परिपक्व व्यवहार देखाउनुपर्नेमा सामाजिक सञ्जालका गतिविधि र टिप्पणीमै अल्झिने गरेको उनको टिप्पणी थियो।
“राज्य राज्यजस्तो छैन, सरकार सरकारजस्तो छैन,” महासचिव पोखरेलले भने, “राज्यका कार्यकारी भूमिकामा रहेका व्यक्तिहरूको व्यवहार बालबालिकाले खेल्ने भाँडाकुटी खेलजस्तो देखिन थालेको छ।”
यस्ता गतिविधिले लोकतन्त्रलाई कमजोर बनाउनुका साथै संविधानको कार्यान्वयन र राज्यका संस्थागत आधारसमेत खल्बल्याउँदै लगेको उनको आरोप छ।
