नदी नियन्त्रणमा पहिलो त्रैमासिक भौतिक प्रगति ३४.९ प्रतिशत
जल उत्पन्न विपद् व्यवस्थापन
काठमाडौँ, कात्तिक १८ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नदी नियन्त्रण तथा जल उत्पन्न विपद् व्यवस्थापनतर्फ ३४ दशमलव नौ प्रतिशत भौतिक प्रगति हासिल गरेको जनाएको छ ।
नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन महाशाखाअन्तर्गतका कार्यक्रम सञ्चालनका लागि चालु आर्थिक वर्षमा पाँच अर्ब २० करोड ९० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । विनियोजित बजेटमध्ये पहिलो त्रैमासमा ६२ करोड ७४ लाख रुपियाँ खर्च गर्ने लक्ष्य रहेकामा १४ करोड ७० लाख रुपियाँ खर्च भएको मन्त्रालयले जनाएको छ । यो त्रैमासिक खर्च लक्ष्यको २३ दशमलव चार प्रतिशत हो ।
महाशाखाका प्रमुख रवीन्द्रबहादुर थापाका अनुसार पहिलो त्रैमासमा दुई दशमलव नौ किलोमिटर तटबन्ध निर्माण गर्नुका साथै एक हेक्टर जग्गा उकास गरिएको छ । वित्तीय प्रगतिका तुलनामा भौतिक प्रगति भने उल्लेख्य देखिएको उहाँले बताउनुभयो ।
महाशाखाअन्तर्गतका केही आयोजनाले निर्धारित त्रैमासिक भौतिक लक्ष्यभन्दा बढी प्रगति हासिल गरेका छन् । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, भरतपुरले निर्धारित लक्ष्यको १६० दशमलव आठ प्रतिशत भौतिक प्रगति गरेको प्रमुख थापाले जानकारी दिनुभयो ।
त्यस्तै, टार-बजार संरक्षण कार्यक्रमले लक्ष्यको १०८ प्रतिशत प्रगति हासिल गरेको छ । लमही आयोजनाले ८६ दशमलव पाँच प्रतिशत, कञ्चनपुरले ८२ दशमलव पाँच प्रतिशत र जनकपुर आयोजनाले ८२ दशमलव तीन प्रतिशत भौतिक प्रगति गरेका छन् ।
नदी कटान तथा बाढीबाट बस्ती र खेतीयोग्य जमिनमा हुने क्षति न्यूनीकरण गर्दै जोखिममा रहेका क्षेत्रको संरक्षण गर्ने उद्देश्यले महाशाखाले विभिन्न नदी नियन्त्रण तथा तटबन्ध निर्माणका आयोजना सञ्चालन गर्दै आएको छ । जल उत्पन्न विपद्को जोखिम न्यूनीकरण र प्रभावित क्षेत्रको संरक्षणलाई लक्षित गरी यस्ता कार्यक्रम कार्यान्वयन भइरहेका छन् ।
