भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११:०७ बजे
काठमाडौँ, १८ कात्तिक । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । समितिका अनुसार कात्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको छ ।
टीका लगाउँदा दाजुभाइ पश्चिम र दिदीबहिनी पूर्व फर्कनुपर्ने समितिले जनाएको छ ।
यस वर्षको तिहार कात्तिक २० गते शुक्रबारदेखि सुरु हुनेछ । उक्त दिन धनत्रयोदशी (धन्तेरस) तथा यमदीपदान गरिनेछ । कात्तिक २१ गते काग तिहार र धन्वन्तरि जयन्ती मनाइनेछ ।
कात्तिक २२ गते नरक चतुर्दशी, कुकुर तिहार, लक्ष्मीपूजा तथा सुखरात्रि परेको छ । कात्तिक २३ गते गाईपूजा र २४ गते गोवर्धन पूजा, गोरूपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ । सोही दिन नेपाल संवत् ११४७ प्रारम्भ हुनेछ ।
तिहारको अन्तिम दिन कात्तिक २५ गते बुधबार भाइटीका मनाइने समितिले जनाएको छ ।
