दाङमा व्यावसायिक सयपत्री फूलखेतीप्रति आकर्षण बढ्दै
काठमाडौँ, कार्तिक १८ । दाङमा व्यावसायिक सयपत्री फूलखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । तिहार तथा दीपावलीजस्ता सांस्कृतिक पर्वलाई लक्षित गरी व्यक्तिगत, सामूहिक तथा सहकारीस्तरबाट फूलखेती विस्तार हुन थालेपछि जिल्लामा व्यावसायिक पुष्पखेतीले गति लिन थालेको हो ।
तुलसीपुर उपमहानगरपालिका १७ जिनुवागाउँमा कलाकार प्रेम विवश घर्तीले अन्य चार जनासँगको साझेदारीमा सामूहिक सयपत्री फूलखेती गर्नुभएको छ । सङ्गीत क्षेत्रमा सक्रिय रहँदै आउनुभएका घर्तीले कृषि क्षेत्रमा समेत आबद्ध हुने उद्देश्यले फूलखेती सुरु गर्नुभएको हो । “कलाकारितामा आबद्ध हुँदाहुँदै अब कृषि क्षेत्रमा पनि सक्रिय हुने सोचले सयपत्री फूलखेतीबाट सुरुआत गरेको हुँ”, उहाँले भन्नुभयो ।
उहाँहरूले सुगन्धित कृषि समूहमार्फत पाँच कट्ठा जग्गामा ‘कर्म ५५५’ जातको करिब दुई हजार ४०० सयपत्रीका बिरुवा रोप्नुभएको छ । खेतीका लागि जग्गा खनजोत, क्यारी निर्माण, मल्चिङ, कालो प्लास्टिक बिछ्याउने र विषादी प्रयोगलगायतका काममा करिब रु एक लाख लगानी भएको समूहका संयोजक सुमन गिरीले बताउनुभयो ।
पाँच कट्ठा क्षेत्रफलबाट करिब १० क्विन्टल फूल उत्पादन हुने अपेक्षा गरिएको छ । तिहारअघि नै एक क्विन्टलभन्दा बढी फूलको अग्रिम माग आइसकेको गिरीले जानकारी दिनुभयो । स्थानीयस्तरमा उत्पादित फूलको खपत पनि स्थानीय बजारमै गराउने र स्वदेशी उत्पादनको महत्त्वबारे सन्देश दिने उद्देश्यले खेती सुरु गरिएको उहाँको भनाइ छ ।
सहकारी पनि व्यावसायिक फूलखेतीमा
व्यक्तिगत तथा सामूहिक प्रयाससँगै कृषि सहकारी संस्थाहरू पनि व्यावसायिक सयपत्री फूलखेतीमा आकर्षित भएका छन् । तुलसीपुर उपमहानगरपालिका १८ स्थित बिजौरी साना किसान कृषि सहकारी संस्थाले तुलसीपुर–१८ कै वनकट्टामा एक बिघा जग्गा पाँच वर्षका लागि भाडामा लिएर फूलखेती गरेको छ ।
एक हजार २०० सदस्य रहेको सहकारीका सञ्चालक समिति सदस्य तथा कर्मचारीसमेत खेतमै खटिएर फूलको स्याहारसुसारमा जुट्ने गरेका छन् । सहकारीकी अध्यक्ष चित्रा धितालका अनुसार प्रतिकट्ठा वार्षिक रु दुई हजारका दरले जग्गा भाडामा लिएर खेती सुरु गरिएको हो । बीउ, मल्चिङ र खेत जोताइ लगायतका प्रारम्भिक काममा रु तीन लाखभन्दा बढी खर्च भएको उहाँले बताउनुभयो ।
सहकारीले यस वर्षको फूलखेतीबाट १२ लाखदेखि १६ लाख रुपियाँसम्म आम्दानी गर्ने लक्ष्य राखेको छ । उत्पादित फूलको बजार विस्तार गर्न टिकटक र फेसबुकजस्ता सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरिरहेको अध्यक्ष धितालले बताउनुभयो । सामाजिक सञ्जालबाट गरिएको प्रचारका कारण विभिन्न स्थानबाट फूलको माग आउन थालेको उहाँको भनाइ छ ।
पहेँलो र सुन्तले सयपत्रीको व्यावसायिक उत्पादन
तुलसीपुर १५ पहरुवास्थित ग्रिनसिटी बहुउद्देश्यीय कृषि, मत्स्य तथा पशुपन्छी फार्मले पनि व्यावसायिक रूपमा सयपत्री फूल उत्पादन तथा माला बिक्री सुरु गरेको छ । फार्मका सञ्चालक आशिष बिसीका अनुसार आधुनिक कृषि प्रणाली र उचित रेखदेख अपनाएर आकर्षक पहेँलो तथा सुन्तले रङका ताजा सयपत्री फूल उत्पादन गरिएको छ ।
फार्मले उत्पादित फूल लामो समयसम्म ताजा रहने गरी व्यवस्थापन गरेको जनाएको छ । ग्राहकको आवश्यकताअनुसार थोक तथा खुद्रा दुवै मूल्यमा फूल र माला बिक्रीका लागि उपलब्ध गराइएको सञ्चालक बिसीले बताउनुभयो ।
तुलसीपुर क्षेत्रमा व्यक्तिगत प्रयासदेखि सहकारी र व्यावसायिक कृषि फार्मसम्मबाट सयपत्री फूलखेती विस्तार हुनुले स्थानीय उत्पादनको बजार प्रवर्द्धनमा सहयोग पुगेको उहाँको भनाइ छ । स्थानीय किसान तथा कृषि समूहको सक्रियताले दाङलाई फूल उत्पादनमा आत्मनिर्भर बनाउने सम्भावना बढाएको उहाँले बताउनुभयो ।
तिहारका बेला फूलको माग उच्च हुने भएकाले स्थानीयस्तरमै व्यावसायिक उत्पादन बढाउन सके बाहिरबाट हुने आयातमा निर्भरता घटाउन तथा किसानको आम्दानी बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
