माईखोलाको बाढीले दुई बिघा खेत पुरिएपछि राजु अग्रवालले थाले बदामखेती : यस वर्ष २० क्विन्टल उत्पादन

काठमाडौँ, कार्तिक १९ । बाढीले खेत बगाएपछि किसानका लागि त्यो जमिन केवल उत्पादन गुमेको पीडा मात्र होइन, भविष्यको चिन्तासमेत बन्न पुग्छ । वर्षौँदेखि धान फलाउँदै आएको खेत एकाएक बालुवाको बगरमा परिणत भएपछि झापा गाउँपालिका-१ का ६५ वर्षीय राजु अग्रवाल पनि यस्तै चिन्तामा पर्नुभयो । तर, उहाँले निराश भएर बस्नुभन्दा बगर बनेको जमिनमै नयाँ सम्भावना खोज्ने निर्णय गर्नुभयो । अहिले त्यही बगरमा लहलहाएको बदामखेतीले उहाँको निराशालाई उत्साहमा बदलिदिएको छ ।

सानो माईखोलामा गत वर्ष आएको बाढीले अग्रवालको दुई बिघा उर्वर धानखेत बगाएर बगर बनाइदियो । धान फल्ने खेत बालुवाले पुरिएपछि अब के खेती गर्ने भन्ने अन्योलमा पर्नुभएका उहाँले विकल्पको खोजी गर्न थाल्नुभयो । कृषि प्राविधिकसँग परामर्श गर्ने र विभिन्न बालीबारे जानकारी लिने क्रममा बदामखेती गर्न सकिने थाहा पाएपछि उहाँले जोखिम मोलेरै नयाँ खेती सुरु गर्नुभयो ।

“धान फल्ने खेत बालुवाको बगर बनेपछि दुःख लाग्नु स्वाभाविकै थियो । बाढीको कहरबाट म स्तब्ध भएँ, तर विचलित भइनँ”, अग्रवालले भन्नुभयो, “कुन खेती गर्न सकिन्छ भनेर सोधीखोजी गर्न थालेँ । बदाम फल्छ भन्ने थाहा पाएपछि उत्साहका साथ नयाँ खेतीमा जुटेँ ।”

उहाँले सुरुमा भारतीय बजारबाट १० किलो बदामको बीउ ल्याएर पाँच कट्ठा जमिनमा परीक्षण खेती गर्नुभएको थियो । पहिलो प्रयासमै बाली राम्रो भएपछि उहाँको आत्मविश्वास बढ्यो । त्यसपछि खेती विस्तार गर्दै दुई बिघा क्षेत्रफलमा बदाम लगाउनुभयो । यस वर्ष उहाँको बगर खेतमा २० क्विन्टल बदाम उत्पादन भएको छ ।

धानखेती हुने जमिनमा बदाम फलाउन सफल भएपछि अग्रवाल अहिले निकै उत्साहित हुनुहुन्छ । बजारमा उहाँले उत्पादन गरेको बदाम प्रतिकिलो १०४ रुपैयाँका दरले बिक्री भइरहेको छ । परम्परागत खेतीबाट अपेक्षित आम्दानी लिन कठिन भइरहेको अवस्थामा नयाँ बालीले राम्रो सम्भावना देखाएको उहाँको अनुभव छ ।

जेठ महिनामा रोपिएको बदाम कात्तिकमा तयार भएपछि अहिले उहाँलाई बाली भित्र्याउने चटारो छ । लहरे प्रकृतिको यस बालीले बगर बनेको जमिनलाई पुनः उत्पादनशील बनाएको छ । धान वा अन्य परम्परागत बालीको तुलनामा बदामखेतीबाट राम्रो आम्दानी लिन सकिने अग्रवालको विश्वास छ ।

पहाडी क्षेत्रमा बढी हुँदै आएको बदामखेती झापाजस्तो तराईको जिल्लामा सफल हुनु स्थानीयका लागि पनि नयाँ अनुभव बनेको छ । तर, माटोको प्रकृति र हावापानी अनुकूल भए तराईमा पनि बदाम उत्पादन गर्न सकिने कृषि प्राविधिकहरूको सुझावलाई अग्रवालले आफ्नै खेतमा परीक्षण गरेर देखाउनुभएको छ ।

झापा गाउँपालिकाकी कृषि प्राविधिक रीता बर्देवाका अनुसार खुकुलो, हलुका तथा बलौटे–दोमट माटो र तराईको न्यानो मौसम बदाम उत्पादनका लागि उपयुक्त हुन्छ । त्यसैले माटोको अवस्था अनुकूल भएको क्षेत्रमा बदामखेती विस्तार गर्न सकिने उहाँको भनाइ छ ।

बाढीले खेतको स्वरूप परिवर्तन गरे पनि त्यसलाई उत्पादनबाट विमुख हुन नदिने अग्रवालको प्रयास अहिले उदाहरण बनेको छ । प्राकृतिक विपद्ले परम्परागत खेतीमा समस्या सिर्जना गर्दा पनि जमिनको अवस्था पहिचान गरी वैकल्पिक बाली अपनाउन सके नयाँ आम्दानीको बाटो खुल्न सक्छ भन्ने सन्देश उहाँको सफलताले दिएको छ । स्वादका लागि लोकप्रिय बदाम पोषण र स्वास्थ्यका दृष्टिले पनि उपयोगी मानिने भएकाले यसको बजार सम्भावना पनि उत्तिकै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *