काठमाडौँको गोकर्णेश्वरमा प्रहरीमाथि जाइलाग्ने लुटपाटमा संलग्न आरोपीलाई गोली हानेर लिइयाे नियन्त्रणमा
काठमाडौँ, १९ कात्तिक । प्रहरीमाथि धारिलो हतियार प्रहार गरी भाग्न खोज्ने डलर ठगी तथा लुटपाटमा संलग्न रहेको आरोप लागेका एक व्यक्तिलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ ।
काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३, गाम्चामा बिहीबार साँझ करिब साढे ६ बजे प्रहरीले ३१ वर्षीय सुजन तामाङलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा तामाङले सस्तोमा अमेरिकी डलर साटिदिने भन्दै ठगी तथा लुटपाट गर्ने गरेको खुलेको छ ।
नियन्त्रणमा लिन खोज्दा तामाङले धारिलो हतियारले प्रहरीमाथि आक्रमण गरी भाग्न खोजेपछि प्रहरीले पहिले हवाई फायर गरेको र त्यसपछि घुँडामुनि गोली प्रहार गरेको जनाएको छ ।
गोली लागेर घाइते भएका तामाङलाई उपचारका लागि पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौँ प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले बताउनुभयो ।
