युक्रेनलाई नेटोको धारा ५ सरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुन सक्ने अमेरिकी दूतको विश्वास
एजेन्सी, ४ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत जारेड कुशनरले युद्ध अन्त्यपछि युक्रेनलाई नेटोको धारा ५ सरहको सुरक्षा ग्यारेन्टी दिने प्रस्तावमा रुस सहमत हुन सक्ने विश्वास व्यक्त गर्नुभएको छ।
बर्लिनमा करिब ४० युरोपेली नेताहरूसँग भएको छलफलमा कुशनरले रुसी पक्षलाई यस्तो सुरक्षा व्यवस्थाप्रति सकारात्मक बनाइएको बताउनुभयो। अर्का अमेरिकी विशेष दूत स्टिभ विटकफले पनि ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको छलफलबारे जानकारी गराउनुभएको थियो।
कुशनरका अनुसार ट्रम्प युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिन सकारात्मक भए पनि त्यसलाई अमेरिकी हितअनुकूल र व्यापक सुरक्षा प्याकेजको हिस्सा बनाउन चाहनुहुन्छ। कुनै पनि सम्झौता युक्रेन र युरोपसँगको परामर्शमा मात्रै गरिने उहाँले बताउनुभयो।
यसैबीच, युक्रेनले क्रिमियालाई रुसी मुख्य भूमिसँग जोड्ने केर्च पुलमा आक्रमण गरेपछि युद्ध अन्त्यका लागि भइरहेका कूटनीतिक प्रयास थप जटिल बनेका छन्। रुसी राष्ट्रपति पुटिनले आक्रमणको जवाफ दिने चेतावनी दिनुभएको छ।
यता, रुस र युक्रेनबीच ड्रोन तथा क्षेप्यास्त्र आक्रमण जारी छ। पछिल्ला आक्रमणमा दुवै देशमा मानवीय क्षति भएको छ। रुसले युक्रेनको ऊर्जा पूर्वाधारलाई निशाना बनाइरहेको छ भने युक्रेनले रुसी तेल प्रशोधन केन्द्रलगायतका संरचनामा लामो दूरीका ड्रोनबाट आक्रमण गरिरहेको छ।
ट्रम्प र पुटिनबीचको निकट संवादले युरोपेली नेताहरूमा आफूहरू शान्ति प्रक्रियाबाट बाहिर पर्न सक्ने चिन्ता बढाएको छ। यद्यपि, पुटिनले युक्रेन युद्धसम्बन्धी वार्तामा युरोपको सहभागिताको विरोध नगरेको बताइएको छ।
