चेस बैंकको प्रणालीमा प्राविधिक समस्या, हजारौँ ग्राहक प्रभावित
अमेरिका, चेस बैंक, अनलाइन बैंकिङ, सफ्टवेयर त्रुटि, प्राविधिक समस्या, साइबर सुरक्षा, डिजिटल कारोबार, जेल पेमेन्ट, बैंकिङ सेवा, माइक्रोसफ्ट आउटेज, अमेरिकी उड्डयन प्रशासन, युनाइटेड एयरलाइन्स, प्रविधि प्रणाली, विश्वव्यापी सेवा अवरोध
न्यूयोर्क — अमेरिकाको प्रमुख बैंकमध्ये एक जेपीमर्गन चेस (Chase Bank) का हजारौँ ग्राहकले सोमबार अनलाइन बैंकिङ सेवा प्रयोग गर्न समस्या भोगेका छन्। बैंकको अनलाइन खातामा पहुँच गर्न तथा वित्तीय कारोबार गर्न कठिनाइ भएको ग्राहकहरूले सामाजिक सञ्जालमार्फत गुनासो गरेका छन्।
चेस बैंकका प्रवक्ताका अनुसार सफ्टवेयरमा देखिएको प्राविधिक त्रुटिका कारण बैंकको प्रणालीमा अस्थायी समस्या उत्पन्न भएको हो। उनले यो समस्या साइबर आक्रमण नभई सफ्टवेयर बगका कारण भएको स्पष्ट पारेका छन्।
अनलाइन सेवासँगै बैंकका केही भौतिक शाखामा समेत कारोबार प्रभावित भएको ग्राहकहरूले बताएका छन्। केही शाखाले आन्तरिक प्रणालीमा समस्या आएको भन्दै ग्राहकलाई जानकारी गराएका थिए। यद्यपि बैंकले ग्राहकको खाता र रकममा पहुँच कायम रहेको जनाएको छ।
सीएनएनसँग कुरा गरेका घटनाबारे जानकार स्रोतका अनुसार समस्या क्लाउड प्रणाली वा साइबर आक्रमणका कारण नभई बैंकको आफ्नै भौतिक कम्प्युटर प्रणालीमा गरिएको अपडेटका कारण उत्पन्न भएको हो।
डाउनडिटेक्टरका अनुसार सोमबार दिउँसो २ बजेसम्म चेस बैंकको सेवा प्रभावित भएको भन्दै ४ हजार ७०० भन्दा बढी ग्राहकले गुनासो दर्ता गराएका थिए।
यसैबीच बैंक अफ अमेरिका, वेल्स फार्गो र यूएस बैंकका केही ग्राहकले पनि कारोबारमा समस्या आएको बताएका छन्। तर ती बैंकको आफ्नै प्रणालीमा ठूलो समस्या नभई चेस बैंकका खातामा जेल (Zelle) मार्फत रकम पठाउँदा वा प्राप्त गर्दा कारोबार ढिलो भएको बताइएको छ।
जेलले आफ्नो सेवा सामान्य रूपमा सञ्चालन भइरहेको जनाएको छ। वित्तीय संस्थाहरूमा देखिएको समस्याले जेलमार्फत हुने कारोबारसमेत प्रभावित हुन सक्ने उसको भनाइ छ।
लगातार तीन कार्यदिनमा ठूला प्राविधिक समस्या
चेस बैंकमा देखिएको समस्यासँगै अमेरिकामा लगातार तीन कार्यदिनमा ठूला प्रविधिगत अवरोध देखिएका छन्।
गत बिहीबार माइक्रोसफ्टको प्रणालीमा आएको समस्याका कारण ७४ देश तथा क्षेत्रमा लाखौँ प्रयोगकर्ताले इमेल सेवा प्रयोग गर्न पाएका थिएनन्। शुक्रबार अमेरिकी संघीय उड्डयन प्रशासन (FAA) को प्रणालीमा समस्या आएपछि देशभरका विमान उडान अस्थायी रूपमा रोक्नुपरेको थियो।
त्यस्तै, सोमबार दिउँसो युनाइटेड एयरलाइन्सले पनि आफ्नो कम्प्युटर प्रणालीमा समस्या आएको जानकारी दिँदै उडानहरू ढिलाइ भएको जनाएको थियो।
यी घटनाका कारण र प्रकृति फरक भए पनि दैनिक जीवनमा अत्यधिक निर्भर प्रविधि प्रणालीको जटिलता र कमजोरी उजागर भएको सूचना प्रविधि विज्ञहरूले बताएका छन्।
अमेरिकाको नोट्रे डेम विश्वविद्यालयका प्राध्यापक माइक च्यापलका अनुसार ठूला प्रणालीको एउटा सानो भागमा देखिएको समस्या पनि तीव्र गतिमा फैलिँदा देशव्यापी अवरोध निम्तिन सक्छ।
प्रविधि प्रणालीहरू एकअर्कामा निर्भर हुँदै जाँदा एउटा संस्थामा देखिएको समस्या अन्य संस्था र उद्योगसम्म फैलिन सक्ने जोखिम रहेको क्वसेक्योरकी प्रमुख कार्यकारी अधिकृत रेबेका क्राउथामरले बताएकी छन्।
विशेषज्ञहरूका अनुसार प्रविधि प्रणाली कहिले असफल हुन्छ भन्नेभन्दा पनि एउटा प्रणालीमा आएको समस्याले अन्य कति प्रणालीलाई असर गर्छ र त्यसलाई कति छिटो नियन्त्रण गर्न सकिन्छ भन्ने विषय महत्वपूर्ण बनेको छ।
