आठपहरिया समुदायको मुख्य पर्व वडाङ्मेट सुरु, शोक बिर्सेर उत्सव मनाउने परम्परा

धनकुटा, ७ मङ्सिर । वर्षभरि आफन्त गुमाउँदाको शोक र पीडालाई धार्मिक तथा सांस्कृतिक विधिबाट बिसाउँदै नयाँ उमङ्ग र उत्साहका साथ जीवन अघि बढाउने मौलिक परम्परा बोकेको आठपहरिया समुदायको सबैभन्दा ठूलो चाड वडाङ्मेट (मङ्सिरे) पर्व सुरु भएको छ ।

धनकुटा नगरपालिकामा मुख्य बसोबास रहेको आठपहरिया समुदायले आपसी सद्भाव, एकता र सांस्कृतिक पहिचानलाई केन्द्रमा राखेर विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधिका साथ पर्व मनाउन थालेको हो ।

वडाङ्मेट पर्वका अवसरमा वर्षभरि आमाबुबा तथा परिवारका सदस्य गुमाएका समुदायका सदस्य शोकबाट मुक्त हुने धार्मिक परम्परा पूरा गर्न धनकुटाबाट सुनसरीको बराहक्षेत्रस्थित कोकाहा खोलासम्मको पैदल यात्रामा निस्किएका छन् । गत शनिबार धनकुटाबाट यात्रा सुरु गरेका उनीहरू चार दिनको पैदल यात्रापछि बराहक्षेत्र पुगेर पुनः धनकुटा फर्किने परम्परालाई निरन्तरता दिइरहेका छन् ।

आठपहरिया समुदायमा आफन्त गुमाउँदाको शोकबाट मुक्त हुने र वर्षभरि लागेको जुठोबाट चोखिने विशेष धार्मिक मान्यता छ । सोही मान्यताअनुसार परिवारका सदस्य गुमाएका व्यक्तिहरू बराहक्षेत्र नजिकैको कोकाहा खोलामा पुगेर कपाल र दाह्री खौरिने तथा स्नान गरी दुःख बगाउने गर्छन् ।

चारदिने पैदल यात्रामा निस्किएका आठपहरियाहरू पहिलो दिन धनकुटाको आहालेमा बास बसेका छन् । दोस्रो दिन आइतबार कोकाहा खोला पुगेर कपाल र दाह्री खौरिने, स्नान गर्ने तथा बराह भगवान्को दर्शन गरी त्यहीँ बास बस्ने कार्यक्रम रहेको आठपहरिया समाजका केन्द्रीय उपाध्यक्ष सूर्य आठपहरियाले जानकारी दिनुभयो । धार्मिक विधि पूरा गरेपछि देवता घरमा ल्याउने परम्परासमेत रहेको उहाँले बताउनुभयो ।

तेस्रो दिन सोमबार बराहक्षेत्रबाट फर्किने यात्रुहरू साँझ धनकुटा नगरपालिकास्थित बगुवा खोलामा बास बस्नेछन् भने मङ्गलबार धनकुटा आइपुग्नेछन् । पैदल यात्राका क्रममा खुला आकाशमुनि नै बास बस्नुपर्ने परम्परा रहेको छ । अरूले निर्माण गरेका पाटीपौवा तथा चौतारामा बास बस्न नहुने धार्मिक मान्यता समुदायमा प्रचलित छ ।

यात्रा सम्पन्न भएपछि बुधबार धनकुटा नगरपालिका क्षेत्रका विभिन्न स्थानमा रहेका २२ वटा मार्गा थान मन्दिरमा भेला भएर विधिपूर्वक पूजा गर्ने कार्यक्रम छ ।

वडाङ्मेट पर्व आफन्त गुमाउँदाको शोकबाट मुक्त हुने अवसर मात्र नभई परिवारमा थपिएका नयाँ खुसी र उपलब्धि उत्सवका रूपमा मनाउने पर्वसमेत हो । मार्गा पूजा सम्पन्न भएपछि समुदायका सदस्यले घरघरमा दुःखको कर्म फुकाउने परम्परा पूरा गर्छन् ।

यस क्रममा वर्षभरि परिवारका सदस्य गुमाएका घरपरिवारले शोकसम्बन्धी परम्परागत विधि सम्पन्न गर्छन् । त्यसपछि घरमा जेठो सन्तान जन्मिएको वा नयाँ घर निर्माण भएको जस्ता खुसीका अवसरमा हर्षबढाइँ गर्ने, आफन्त तथा छिमेकीलाई निमन्त्रणा गरेर भोज खुवाउने र सामूहिक नाचगान गर्ने चलन छ ।

यो क्रम करिब १५ दिनसम्म चल्ने पुजारी उमेश आठपहरियाले बताउनुभयो । उहाँका अनुसार समुदायभित्रका हुम्बारक, छिर्लिङे र खावाडो गरी तीन पाछाका पुस्तागत डल्ले नाच तथा मारुनी नाच प्रस्तुत गरिन्छ । मारुनी नाच्ने कलाकारलाई पैसाको माला दान गर्ने परम्परासमेत रहेको छ ।

विशिष्ट संस्कार र संस्कृति रहेको आठपहरिया समुदायको मुख्य बसोबास धनकुटा नगरपालिका क्षेत्रमा छ । समुदायले वर्षभरि तीनवटा प्रमुख चाड मनाउने गरेको छ । वैशाखमा विशु, भदौमा न्वागी र कात्तिक वा मङ्सिरमा वडाङ्मेट पर्व मनाइन्छ । यी चाड मनाउन विश्वका जुनसुकै ठाउँमा पुगेका समुदायका सदस्य पनि आफ्नो मूल बसोबास क्षेत्र धनकुटा फर्किनुपर्ने मान्यता छ ।

वडाङ्मेटलाई आठपहरिया समुदायको सबैभन्दा ठूलो र महत्त्वपूर्ण चाडका रूपमा लिइन्छ । भाइटीकापछि उपयुक्त साइत जुराएर माङ्ला उठाएसँगै पर्व सुरु हुने परम्परा छ । धनकुटा नगरपालिकामा करिब छ हजार आठपहरियाको बसोबास रहेको छ । पर्वका अवसरमा नगरपालिकाले मङ्सिर ८ र ९ गते सार्वजनिक बिदा दिएको छ ।

सहिदभूमिमा पापानी पर्वको तयारी

धनकुटाको सहिदभूमि गाउँपालिकास्थित खाल्सा क्षेत्रमा बसोबास गर्ने राई समुदायको मौलिक पापानी (वाढाङ्मी) पर्वको तयारी पनि सुरु भएको छ ।

नयाँ बाली भित्र्याएको खुसीयालीमा मनाइने यो पर्व कात्तिक शुक्ल पूर्णिमापछिको पहिलो मङ्गलबार सहिदभूमि गाउँपालिका–३ स्थित साकेन्वा थानमा पूजा गरेपछि सुरु हुने परम्परा छ । यस वर्ष कात्तिक पूर्णिमा मङ्गलबार मङ्सिर ८ गते परेकाले सोही दिनदेखि पापानी पर्व सुरु हुने स्थानीयवासी नरेन्द्र कश्चित राईले जानकारी दिनुभयो ।

पापानी पर्वमा किरात राई समुदायले कुलदेवताको पूजाआराधना गर्दै ढोल र झ्याम्टा बजाएर छ दिन छ रातसम्म नाचगान गर्ने गर्छन् । एकअर्काको कुम जोडेर गोलो घेरा बनाई खुट्टा तीन कदम अगाडि र पछाडि सार्दै नाच्नु यस पर्वको विशेषता हो । नयाँ बाली भित्र्याएको खुसी साटासाट गर्दै इष्टदेवताको पूजा र सामूहिक नाचगानका साथ पर्व मनाउने गरिन्छ ।

पर्वको पहिलो दिन गाउँभरिका गढी घरका ढोल मूल पुजारीको घरमा भेला गराई पूजा गरेपछि पापानी सुरु हुन्छ । दोस्रो दिन घरघरमा देवीदेवता भित्र्याएर पूजा गर्ने तथा माङ्ला अर्थात् जोखाना हेर्ने परम्परा छ ।

पर्वको अन्तिमतिर इष्टदेवता फुढाहाङ (बुढाहाङ) को प्रतीक ङाङसुबाथिङको घर हुँदै गढी घर, पथ्थरे र मझियाको गढी घरमा पूजा गर्ने चलन रहेको छ ।

पापानी पर्वका अवसरमा सहिदभूमि गाउँपालिकाले मङ्सिर १३ र १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यस पर्वले नयाँ बाली भित्र्याएको खुसीसँगै किरात राई समुदायको मौलिक धार्मिक आस्था, सांस्कृतिक पहिचान र सामूहिक एकतालाई जीवन्त राख्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *